भैरहवा- प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको छ।
पोखरेल भैरहवाबाट बुटवल जाने क्रममा तालिम केन्द्रको मोडनजिकै ढुंगा प्रहार भएको हो। टाढाबाट प्रहार भएको ढुंगा मुख्यमन्त्रीको स्कर्टिङ गरेको प्रहरीको गाडीमा र ढुंगा हानेको आशंकामा ९ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी प्रदेश ५ का डिआईजी रबिन्द्र धानुकले नेपालसमयलाई बताए।
मुख्यमन्त्री पोखरेल आजै साझ काठमाडौबाट विमान मार्फत भैरहवा पुगेका थिए। उनी संसदमा प्रदेश नाम लुम्बिनी र राजधानी दाङको भालुबाङ बनाउने प्रस्ताव दर्ता गरेर काठमाडौं गएका थिए।
राजधानी दाङाको भालुवाङ प्रस्ताव गरेपछि रुपन्देहीमा निजी क्षेत्र, सामाजिक संघसंस्था र प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन चर्काएको छ।
आज कांग्रेसको आह्वानमा जिल्ला बन्द पनि भएको छ। बन्दको समयमा उच्च प्रहरी सतर्कताबीच भैरहवाबाट बुटवल जाँदै गर्दा मुख्यमन्त्री पोखरेललाई आक्रमण प्रयास भएको हो। स्थानिय प्रशासनले आज बिहानैदेखि बुटवलमा निषेधाज्ञा पनि लगाएको छ।