काठमाडौं- स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने भन्दै गत आर्थिक वर्षदेखि स्यानिटरी प्याड आयातमा सरकारले कर लगाएको थियो। गत आर्थिक वर्षको बजेटमार्फत् स्यानिटरी प्याड आयातमा सरकारले १५ प्रतिशत भन्सार शुल्क लगाएको थियो।
चालु आर्थिक वर्षको बजेटमा गत वर्षकै व्यवस्थालाई निरन्तरता दिइएको छ। तर यस वर्ष व्यापक विरोध भइरहेको छ। बिहीबार मात्रै काठमाडौंको माइतीघर मण्डलामा 'रातो कर खारेज गर' भन्दै विरोध भएको थियो।
यता सरकारले स्वदेशमै प्याड उत्पादन गर्ने उद्योग प्रशस्त भएकाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष नै कर लगाइए पनि यसवर्ष त्यसमा कुनै हेरफेर नगरिएको प्रष्ट पारेको छ। स्वदेशमा उत्पादन हुने भएपनि विदेशबाट समेत स्यानिटरी प्याड आयात भइरहेको छ।
भन्सार विभागका अनुसार गत साउनमा चीनबाट २ लाख ५ हजार रुपैयाँ बराबरको ६ हजार १९९ थान स्यानिटरी प्याड आयात भएको छ। साउनमा भारतबाट उच्च परिमाणमा प्याड आयात भएको छ। विभागको तथ्यांक अनुसार साउनमा भारतबाट ८ करोड ७७ लाख ३७ हजार रुपैयाँ बराबरको ९० लाख ३० हजार ५३५ थान प्याड आयात भएको छ।
त्यस्तै युनाइटेड अरब इमिरेट्सबाट ५ हजार रुपैयाँ बराबरको ४६ थान प्याड आयात भएको भन्सार विभागको तथ्यांक छ। मूख्यगरी, ३ मुलुकबाट आयात भइरहेको प्याड आयातमार्फत् मात्रै सरकारले पौनै ३ करोड रुपैयाँ बढी राजश्व संकलन गरिएको समेत उल्लेख गरेको छ।