काठमाडौं- नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग ७२ घण्टाभित्र वार्ता गरी अनशन अन्त गराउन सरकारलाई अल्टिमेटम दिएको छ।
संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा संघले केसीको जीवन बचाउनका लागि ७२ घण्टाभित्र वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रहको अन्त्य गर्न माग गरेको छ।
डा. केसीको अनशनको २१ दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदिएको भन्दै संघले कुनै विरोधका कार्य गर्नुपूर्व नै वार्ता गर्न आग्रह गरेको छ।
सरकारले कुनै वास्ता नगरे जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र त्यसबाट हुनसक्ने जस्तोसुकै परिस्थितिप्रति नेपाल सरकार जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा भनिएको छ।
अनशनरत डा. केसीको अवस्था गम्भीर हुँदै गएको त्रिवि शिक्षण अस्पतालले जनाइसकेको छ। अस्पतालले आईसियुमा राख्न भने पनि डा. केसीले मानेका छैनन्।
डा. केसीको मुटुको घड्कन बढ्ने, चक्कर लाग्ने, ऐठन हुने, छाती दुख्ने, शरीर दुख्नेलगायतका समस्या देखिएका छन्। आइतबार बिहान ११ बजेदेखि डा. केसीलाई अक्सिजन दिन थालिएको अस्पतालले जनाएको छ।
केसीको शरीरमा स्याचुरेसन (शरीरमा अक्सिजनको मात्रा) कमी भएपछि अहिले प्रतिमिनेट ४ देखि ५ लिटर अक्सिजन सर्पोट दिन थालिएको छ।