पोखरा– विकास लम्साल गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री हुन्। सुरुकै वर्षबाट उनको मन्त्रालयले खर्च प्रगति राम्रो छ। खर्चसँगै उनको मन्त्रालयको बेरुजु पनि उस्तै छ। धेरैथरि मन्त्रालयको जिम्मा पाएका मन्त्री लम्सालसँग योजना माग्न जानेको लर्को लामै हुन्छ।
जिल्लामा स–साना योजनाका लागि रकम माग्न जाँदा कांग्रेस सांसद मेखलाल श्रेष्ठले उत्तर पाए, ‘तपाईंहरु मलाई प्रमुख अतिथि बनाएर बोलाउँदै बोलाउनुहुन्न।’ यो जवाफ आफूलाई मात्र होइन, प्रदेशकै सांसदहरु र स्थानीय तहका जनप्रतिनिधिलाई पनि मन्त्री लम्सालले दिने गरेको सांसद श्रेष्ठले बताए।
मन्त्रीको जवाफबाट अवाक् भएपछि सांसद श्रेष्ठले आइतबार प्रदेश सभा बैठकमा विषेश समय नै लिएर यसबारेमा असन्तुष्टि पोखे।
प्रदेशसभामा सांसद श्रेष्ठले मन्त्री लम्सालको नामै किटेर भने, ‘अब त जनताले न्याय पाउँछन् भन्ने विश्वास सबैतिर छाएको थियो। तर, अहिले त फेरि सामन्त, नयाँ राजा र राणाकालमा जस्तै आफूलाई जीहजुरी गर्ने, सधैं आफ्नो वरिपरि घुमिरहोस् भन्ने चाहना नेतृत्व वर्गमा पलाउन थालेको जस्तो देखिन्छ। त्यसको ज्वलन्त उदाहरण हाम्रै प्रदेशका उद्योग, पर्यटनमन्त्रीज्यूले देखाइरहनुभएको छ।’
स्थानीयस्तरमा विकास निर्माणका योजना खोज्दै मन्त्रालय पुग्नेहरुलाई ‘तपार्इंहरूले मलाई चिफ गेस्ट बनाउँदै बनाउनुहुन्न। मलाई तपाईंहरूको क्षेत्रमा बोलाउँदै बोलाउनुहुन्न। योजना मागेर मात्रै पाइन्छ ?’ भनेर जवाफ दिने गरेको सांसद श्रेष्ठले बताए।
मन्त्रीको यस्तो कार्यशैलीले संघीयता र लोकतन्त्र नै खतरामा परेको टिप्पणी सांसद श्रेष्ठको छ। यस्ता क्रियाकलापले प्रदेश सरकारलाई नै असफल बनाउनतर्फ अग्रसर भएको हो कि आफूलाई लागेको उनले बताए। उनले प्रश्न गरे, ‘तपाईंले हामीकहाँ आएर हामीलाई सेवा गर्न पर्छ भन्ने भाव प्रकट गर्नुभएको छ। यही हो लोकतन्त्र ? यही हो संघीयता ?’
हामीले ल्याएको लोकतन्त्र कसैलाई सामन्त बन्नलाई र कसैले पुर्खाको जस्तो आफूलाई सधैं सेवामा तल्लीन बनाउन, आफूलाई शासक र जनतालाई सेवक बनाउने खालको भाव प्रकट भएको त होइन भन्ने प्रश्न उनले गरे। स्थापनाको दोस्रो वर्षमै मन्त्रालयको बेरुजु बग्रेल्ती भएकोतिर ख्याल नगरी मन्त्रीले सम्मान खोज्ने र पहुँच देखाउने शैली लोकतन्त्र सुहाउँदो नभएको उनले बताए।
मन्त्रालयमा छुट्याइएको परामर्शको नाममा खर्च भएको ३ करोड रकम महालेखा परीक्षकले बेरुजुको नाममा देखाउँदा त्यसको जिम्मेबारी लिन नचाहने, वन पैदावरमा राजस्व संकलन गर्नतर्फ ध्यान नदिने प्रवृत्ति प्रदेशकै लागि घातक हुने सांसद श्रेष्ठको भनाइ थियो।
नजिकिएका चाडपर्वसँगै बजारमा सामानको अभाव, कालाबजारी मौलाउँदा अनुगमन गर्न ध्यान नपुर्याएर मन्त्री लम्सालले सत्ता जोगाउन र सम्मान खोज्नेतर्फमात्रै ध्यान दिएको आरोप उनको छ। जनता रोग, भोकबाट पीडित हुँदा मन्त्री भने पदको घमण्ड देखाएर गाउँ घुम्न फुर्सद नभएको आरोप सांसद श्रेष्ठले लगाए।
‘राष्ट्रियताको ठूलो ढ्वाङ रची जनतालाई विकास निर्माणका पपुलर योजना बाँड्ने तर काम भने नगर्ने, यसअघिका सरकारले ल्याएका क्रमागत योजनाको शिलान्यास गर्ने र हाम्रो सरकारले ल्याएको हो भनेर जनतालाई ढाँट्न थालिएको हो भन्ने ठम्याइ छ,’ उनले भने।
केपी शर्मा ओलीले चुनावको बेलामा पोखरामा रेल आउने भने पनि डिपिआरका लागि समेत पहल नभएकोप्रति उनले कटाक्ष गरे। उनले भने, ‘केन्द्रीय सरकारले पनि झुटो कुरा नभनोस्।’
पाठ्यक्रममा छापिएको नक्सा रोक्ने र आफूलाई महान राष्ट्रवादी देखाउन खोजेको आरोप लगाउँदै उनले के कारणले रोकियो त्यसबारे उनले जवाफ पनि माग गरे।