काठमाडौं– वामदेव गौतम कुनै बेला एमालेको आन्तरिक राजनीतिमा ‘किङ मेकर’ मानिन्थे। उनी जता लाग्थे त्यतै पल्लाभारी हुन्थ्यो। गौतम जसको लाइनमा उभिन्थे उसैको स्वर ठूलो हुन्थ्यो। नेतृत्व चयनमा समेत उनी जसको पक्ष लिन्थे उसैले बाजी मार्थ्याे।
२०६५ फागुनमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशन होस् वा २०७१ असारमा भएको नवौं महाधिवेशन– गौतम जसको पक्षमा उभिए उसैले पार्टीको नेतृत्व हात पारेको थियो। आठौं महाधिवेशनमा झलनाथ खनाल र केपी शर्मा ओली अध्यक्षका उम्मेदवार थिए। गौतमको साथ पाएका खनालले १२८ मतअन्तरले ओलीलाई पराजित गरेका थिए। गौतम ९१९ मतसहित उपाध्यक्षमा निर्वाचित भएका थिए।
नवौं महाधिवेशनमा पनि गौतमले जसलाई साथ दिए उसैले पार्टीको नेतृत्व हात पार्यो। त्यति बेला गौतमले कित्ता परिवर्तन गरे। ओलीलाई आठौं महाधिवेशनमा हराउन सघाएका गौतमले नवौं महाधिवेशनमा भने साथ दिए। र, जिताएरै छाडे। अध्यक्ष पदका अर्का उम्मेदवार माधवकुमार नेपाललाई ४४ मतअन्तरले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए। गौतमले उपाध्यक्षमै चित्त बुझाए।
ओलीका पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा थिए भने प्रचण्डको पक्षमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ थिए। दुवैतर्फ बराबर सदस्य भएकाले गौतम जता ढल्किन्थे उसैको पल्लाभारी हुन्थ्यो।
एमालेमा मात्रै होइन, एमाले र माओवादी एकीकृत भएर नेकपा बनेपछि पनि नेता गौतम किङमेकरकै रूपमा रहे। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच लामो टकराव चल्यो। तत्कालीन नेकपाको नौ सदस्यीय सचिवालयमा गौतम जता लाग्थे उही बलियो बन्ने स्थिति थियो। ओलीका पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा थिए भने प्रचण्डको पक्षमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ थिए। दुवैतर्फ बराबर सदस्य भएकाले गौतम जता ढल्किन्थे उसैको पल्लाभारी हुन्थ्यो। त्यसैले तत्कालीन नेकपामा उनको तानातान भइरहन्थ्यो। तर, गौतम यति अस्थिर थिए कि उनी कतिखेर कसको क्याम्पमा पुग्थे भन्ने कुराको कुनै पत्तो हुन्न थियो। झन्डै २५ वर्षदेखि एमालेको केन्द्रमा रहेका गाैतम अहिले यता न उताका भएका छन्।
प्रधानमन्त्रीको लालसामा ओरालो लागेको यात्रा
गौतमको ओरालो यात्रा २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि सुरु भएको हो। आफू प्रधानमन्त्रीको उम्मेदवार भन्दै चुनावी प्रचारमा होमिएका गौतम अन्ततः पराजित भए। पराजित भएपछि पनि उनले प्रधानमन्त्री बन्ने लालच त्यागेनन्। त्यति बेला वामदेवले आफूलाई यस्तो यात्रीका रूपमा उभ्याए जसले हार खान सक्छ, तर हरेस खान तयार छैन। प्रधानमन्त्री बन्नका लागि पहिलो सर्त प्रतिनिधिसभा सदस्य हुनुपर्छ। उनले प्रतिनिधिसभा सदस्य बन्न अनेकन प्रयत्न गरे।
बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव हारेका उपाध्यक्ष गौतमलाई नेकपा गठन भएदेखि नै प्रतिनिधिसभा ल्याउने चर्चा भएको थियो। त्यति बेला सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर गौतम डोल्पाबाट चुनाव लड्ने चर्चा पनि थियो। तर, जनताले मान्दै मानेनन् भन्दै बुढा राजीनामा दिन तयार भएनन्। दैलेख, बाँके र नवलपरासीका सांसदलाई राजीनामा गर्न लगाई चुनाव लड्ने प्रयत्न पनि गौतमले गरेका थिए। कुनै सांसदले पनि राजीनामा नदिएपछि वामदेवको योजना विफल भएको थियो।
जननिर्वाचित सांसदलाई राजीनामा दिन लगाएर जबरजस्ती संसद् छिर्न खोजेको भन्दै गौतमको पार्टी भित्र र बाहिर चर्को आलोचना भयो। मानन्धरको राजीनामा अस्वीकृत भयो।
काठमाडौं–७ का रामवीर मानन्धर भने गौतमलाई आफ्नो क्षेत्रमा स्वागत गर्दै सांसद पदबाट राजीनामा दिए। पार्टी अध्यक्ष केपी शर्मा ओली गौतमसँग आक्रोशित भए। त्यति मात्र होइन, जननिर्वाचित सांसदलाई राजीनामा दिन लगाएर जबरजस्ती संसद् छिर्न खोजेको भन्दै गौतमको पार्टी भित्र र बाहिर चर्को आलोचना भयो। मानन्धरको राजीनामा अस्वीकृत भयो।
प्रतिनिधिसभाबाट संसद् छिर्ने बाटो कठिन हुँदै गएपछि गौतमले राष्ट्रियसभा भए पनि प्रवेश गर्ने निधो गरे। राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने उनको सर्त थियो। त्यसमा छलफल गरेर अघि बढ्ने वचन तत्कालीन नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले दिएपछि उनी राष्ट्रियसभा छिरेका हुन्।
तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरिदिएपछि गौतमको सपना सिसामा ढुंगा हाने जस्तै भयो। त्यतिखेर ओलीको कदम ठिक नभएको बताए पनि गौतमले खुलेर विरोध गरेनन्। नेकपा मिलाउने प्रयत्न जारी राखे। अदालतको आदेशले नेकपालाई विभाजित गरिदियो। त्यसपछि एमालेलाई एक बनाउन सक्रिय भएका गौतम अन्ततः पेन्डुलम बनेका छन्।
पहिल्यैदेखि दोधारे चरित्रका थिए वामदेव : राधाकृष्ण मैनाली
वामपन्थी नेता राधाकृष्ण मैनाली वामदेव गौतम पहिल्यैदेखि ढुलमुले र दोधारे चरित्रका रहेको बताउँछन्। उनका अनुसार कुनै पनि कुरामा अडान लिन नसक्ने र पदका लागि जस्तो पनि सम्झौता गर्ने स्वभाव गौतमको थियो। ‘उति बेला पनि बिहान मालेको कुरा गर्यो भने, दिउँसो माओवादी र साँझ राप्रपाको कुरा गर्नुहुन्थ्यो। कार्यकर्ता नै अलमलमा पर्थे’, नेता मैनालीले सम्झिन्छन्।
उनका गतिविधिबाट कहिलेकाहीं त दिक्क लाग्ने खालको हुन्थ्यो। उनी भन्छन्, ‘कहिले कोसँग गएर के सम्झौता गर्नुहुन्थ्यो थाहै नपाइने। कुनै कुरामा अडिनै नसक्ने, हावादारी विश्लेषण गर्ने र अनुमानमा रमाउने उहाँको अर्को कमजोरी हो।’
नेता मैनालीका अनुसार यस्तै हावादारी विश्लेषणका कारण गौतमलाई कार्यकर्ताले समेत पत्याउन छाडेका थिए। मैनाली भन्छन्, ‘अहिले पनि उहाँमा त्यही स्वभाव र शैली देखिन्छ। प्रधानमन्त्री पदको प्यासी बनेर दौडिरहनुभयो अहिले छट्पटाइ रहनुभएको छ।’
२०५३ असोजमा संसदबाट महाकाली सन्धि अनुमोदन गर्ने बेला पार्टी विभाजनको तहसम्म पुगेको थियो। महाकाली सन्धिका विपक्षमा उभिएका गौतमले २०५४ को महाधिवेशनपछि पार्टी फुटाएर नेकपा माले गठन गरेका थिए।
उतिबेला एमालेबाट विभाजित भएर माले बन्दा सबैभन्दा ठूलो दल बन्ने गौतमको दाबी थियो। तर, दुर्भाग्य मालेले तत्कालीन समयमा एक सिट पनि जितेन। नेता मैनालीका अनुसार यस्तै हावादारी विश्लेषणका कारण गौतमलाई कार्यकर्ताले समेत पत्याउन छाडेका थिए। मैनाली भन्छन्, ‘अहिले पनि उहाँमा त्यही स्वभाव र शैली देखिन्छ। प्रधानमन्त्री पदको प्यासी बनेर दौडिरहनुभयो अहिले छट्पटाइ रहनुभएको छ।’
उपाध्यक्ष पदबाट दिएको राजीनामा अस्वीकृत
गौतमले एमाले उपाध्यक्षबाट दिएको राजीनामा अस्वीकृत भएको छ। गौतमको राजीनामा स्वीकृत नभएको एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
नेता गौतमले तीन साताअघि गत भदौ १८ गते उपाध्यक्षसहित पार्टीको सवै जिम्मेवारीबाट राजीनामा दिएका थिए। एमालेले निर्वाचन आयोगमा पठाएको पार्टीको केन्द्रीय कमिटी सदस्यका नाममा गौतमको नाम पनि समावेश छ। ‘गौतमको नामसहित हामीले निर्वाचन आयोगमा अपडेट पठाएका छौं। त्यसैले उहाँ हाम्रै पार्टीमा हुनुहुन्छ भन्ने बुझ्नपर्छ’, कार्यालय सचिव तामाङले भने।
तीन साताअघि गौतमले आफ्नो राजीनामा पत्रमा अध्यक्ष केपी ओलीलाई नवौं महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशा पालना नगरेको तथा सरकारमा हुँदा साझा घोषणापत्र समेत लागू नगरेको भन्दै असन्तुष्टि पोखेका थिए। ओलीले संविधानकै गलत प्रयोग गरेको, पार्टीका बिचार सिद्धान्त र कार्यदिशा पालना नगरेको विषय पनि उनले राजीनामापत्रमा उल्लेख गरेका थिए।
गौतमले एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जाने तयारीमा थिए। एकीकृत समाजवादीले पूर्ण रुपमा जनताको बहुदलीय जनवाद (जबज) अंगाल्न नसक्ने घोषणा गरेपछि उनी उक्त पार्टीमा जाने योजनाबाट समेत ब्याक भएका छन्।