काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चीनको भन्दा बढी भएको छ।
पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्यामा नेपालले चीनलाई उछिनेको हो।
वर्ल्डओमिटरको तथ्यांकअनुसार चीनमा आज (आइतबार) दिउँसोसम्ममा कोरोना संक्रमितको कुल संख्या ८५ हजार ४५० छ। नेपालमा भने संक्रमित संख्या ८६ हजार ८२३ पुगेको छ।
मृत्युको मामलामा भने नेपाल निकै पछि छ। चीनमा हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएकोमा नेपालमा मृतकको संख्या ५३५ पुगेको छ।
गएको डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस संक्रमण देखा परेको थियो।
नेपालमा पहिलो पटक गएको माघ ९ गते चीनको वुहानबाट आएका एक जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो।