पोखरा- पोखरा विश्वविद्यालयले एक वर्षपछि उपकुलपति पाउने भएको छ। सरकारले पोखरासहित तीन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सहमति जुटाएको हो।
विश्वविद्यालयमा पदाधिकारीका लागि प्रतिपक्ष कांग्रेससँग भागबन्डा मिलाएको छ। दुई विश्वविद्यालयमा नेकपा र एउटामा कांग्रेसका तर्फबाट उपकुलपति नियुक्ति गर्ने सहमति जुटेको स्रोतले बतायो।
पोखरा विश्वविद्यालयमा कांग्रेसनिकटलाई भिसी नियुक्त गर्न सरकारले शेरबहादुर देउवासँग नाम लिइसकेको छ।
कांग्रेस सभापति देउवाले प्रा.डा. प्रेमनारायण अर्यालको नाम सरकारलाई दिएका छन्।
नेपाल संस्कृत विश्वविद्यालय दाङमा प्राध्यापक डा. यादवप्रकाश लामिछाने र कृषि र वन विश्वविद्यालय चितवनमा डा. पुण्य रेग्मी उपकुलपति नियुक्त भइसकेका छन्। लामिछाने र रेग्मी दुवै सत्तारुढ दल नेकपा निकट हुन्।
उपकुलपति नियुक्त नहुँदा डिन नियुक्ति, संयुक्त कलेजका निर्देशक नियुक्ति, कर्मचारी नियुक्ति, परीक्षा, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायत प्रभावित भएका छन्।
अनलाइन कक्षा सञ्चालन गर्ने योजना पनि अघि बढ्न सकेको थिएन। विश्वविद्यालयमा अनलाइन कक्षा सुरु भएको १० दिन मात्र भएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. चिरञ्जीवी शर्माको कार्यकाल गत वर्ष असोज पहिलो हप्ता सकिएको थियो। लगत्तै विज्ञान संकायका डिन बुद्धिराज जोशीले तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी पाए।
जोशीपछि मानविकी संकायका डिन प्रा.डा. इन्द्रप्रसाद तिवारीले कार्यवाहक उपकुलपतिको जिम्मेवारी पाएका थिए। तिवारीले उमेरहदका कारण वैशाखमा अवकाश पाएका छन्।
त्यसपछि विश्वविद्यालयमा निमित्तको जिम्मेवारी पाउने पनि कोही भएनन् । विश्वविद्यालयमा पूर्णकालीन उपकुलपति नियुक्तिको माग गर्दै विद्यार्थीले आन्दोलन पनि गरे।
विश्वविद्यालयबाट ८ वटै सेमेस्टर सकेका विद्यार्थीको दीक्षान्त समारोह गत फागुनमा हुनुपर्ने थियो । कुलपति र रजिस्ट्रार नहुँदा समारोह हुन सकेन। ट्रान्सक्रिप्ट र सर्टिफिकेट नपाउँदा पास भएका सा हजार विद्यार्थी शैक्षिक बेरोजगार बनेका छन्।
उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिस्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र संकाय लगायतका डिनको पद रिक्त छ।
व्यवस्थापन संकायमा भने प्राध्यापक हरिबहादुर खड्का डिन छन्। डिनमात्रै होइन स्कुल अफ डेभलप्मेन्ट एन्ड सोसल इन्जिनियरिङबाहेक अरु तीन संयुक्त आंगिक कलेजमा निर्देशक पनि छैनन्।
पोखरा विश्वविद्यालयका चार आंगिक, चार संयुक्त आंगिक र देशभर ५८ वटासम्बन्धन प्राप्त कलेज छन्।