चालु आवकै साउनमा एक खर्ब ५० अर्बभन्दा बढीको आयात भएको छ। यसरी नेपालको समग्र व्यापार घाटा भने आव २०७७/७८ को तुलनामा ७०.५ प्रतिशत वृद्धि भई १ खर्ब २९ अर्ब ९७ करोड पुगेको छ। गत आवमा व्यापार घाटा २२.२ प्रतिशतले घटेको थियो।
अघिल्लो वर्ष साउनमा निर्यात ८.९ प्रतिशतले मात्र वृद्धि भएको थियो। केन्द्रीय बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ क्रमशः १६७. प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ। वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ। यस्तै अलैँची, आयुर्वेदिक औषधि, जडीबुटी, तार, तयारी छालाका समानलगायत वस्तुको निर्यात घटेको छ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ।अघिल्लो वर्ष साउनमा आयात १९.६ प्रतिशतले घटेको थियो।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुनलगायत वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, हवाइजहाजका पार्टपुर्जा, तयारी पोशाकलगायत वस्तुको आयात घटेको छ।
सो अवधिमा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेक नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ। कैलाली भन्सार कार्यालयबाहेक नाकाबाट भएको आयात वृद्धि भएको छ। गत साउनमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.२ प्रतिशत थियो।
समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा रु नौ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको थियो।