चितवन– कोरोना सङ्क्रमणका बेला चितवनमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन्। भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका तीन सय ४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो। सोही अवधिमा तीन सय १५ जनाको परीक्षण गर्दा २४ जनामा डेङगु देखिएको छ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार सबै रोगको तथ्यांक संकलन भईरहेको छ। मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुत्सुगामुसी भन्ने व्याक्टेरियाका कारण स्क्रब टाइफस हुने भरतपुर अस्पतालका डा महेन्द्र अग्रहरिले जानकारी दिए।
यो रोग वर्षाको समयमा देखिन्छ। उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ। यसमा विशेषरी उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने, पेट दुख्ने अग्रहरिले बताए।
यसै गरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेङ्गु हो। यसको सङ्क्रमणमा शुरूआती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्री भन्दा वढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने जस्ता लक्षण देखा पर्ने डा अग्रहरिको भनाइ छ।
जिल्लाका शहरी क्षेत्रमा अहिले पानी जमेको छ। त्यसले रोग थप बढ्न सक्ने भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका डा भोजराज अधिकारीले वताए। उनका अनुसार पानी सुक्दै जाँदा रोगको प्रकोप वढ्दै जाने खतरा छ। जिल्लामा हरेक वर्ष यतिवेला दुबै रोगका बिरामी बढ्ने गर्दछन्।
रासस