काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले चुनावसहितको साधारणसभा गर्न अनुमति पाएको छ।
शुक्रबार गृह मन्त्रालयले एफएनसीसीआईलाई कोभिड १९ सँग सम्बन्धित विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पुरा गरी चुनावी साधारणसभा गर्न अनुमति दिएको हो।
महासंघले चुनावी साधारणसभा यही मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो। चुनावी साधारणसभाको लागि गृह मन्त्रालयले स्वीकृति दिनुपर्ने भएकोले एफएनसीसीआईले गृह मन्त्रालयसमक्ष स्वीकृतिका लागि निवेदन दिएको थियो।
चुनाव कसरी गर्ने सकिन्छ भन्ने अध्ययन गर्न बनाएको महासंघको कार्यदलले भने भर्चुअल माध्यबाट पनि चुनावसहितको साधारणसभा गर्न सकिने सुझाव दिएको थियो। गृहले दिएको अनुमतिअनुसार मतदान गर्दा एकपटकमा २५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन।
गत चैतमा तय भएको चुनावी साधारणसभा साउनका लागि सारिएको थियो। कोभिडका कारण साउनमा पनि चुनाव हुन सकेन।