शनिबार, भदौ १३, २०८३

बेगखोलामा पुल नबन्दा स्थानीयलाई सास्ती 

भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण १ दोवाकी कुमारी शेरचन ३० गते राति बाटोमै सुत्केरी भइन्। 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

म्याग्दी– भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण १ दोवाकी कुमारी शेरचन ३० गते राति बाटोमै सुत्केरी भइन्। 

दोवाबाट कुमारी चढेर आएको जीप रघुगङ्गा १ बेगखोलामा बाढी आएपछि तर्न सकेन। खोला तर्न नसकेपछि दुई दिन बाटोमै रोकिनु पर्यो। 

उनी बास बसेकै ठाउँमा असुरक्षितरूपमा सुत्केरी भइन् । 
‘कुमारीले अस्पताल पुग्न नपाई कालीओढार भन्ने ठाउँमा बास बसेकै घरमा बच्चा जन्माएपछि बाटैबाट गाउँ फर्किए छन्,’ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले भने । 

कुमारी मात्र होइन यस्तो पीडा अरुले पनि निकै सास्ती भोग्ने गरेका छन्। ‘

३० गते सर्पले टोकेर घाइते भएका दोवाकै दलबहादुर गर्बुजालाई बेनी अस्पताल जाने क्रममा डोजरको बकेटमा राखेर बेगखोला तारिएको थियो,’ वडाध्यक्ष गर्बुजाले भने। 

दोवाका कुमारी र दलबहादुर राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा दुःख पाएका नागरिकका उदाहरण पात्र मात्र हुन् । 

विसं २०७३ भदौ १७ गते रातिको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ घर बगाएको थियो। 

बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा हरेक बर्खायाममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ती र झन्झट ब्यहोर्नुपरेको छ। 

भदौ २७ गते नारच्याङ जाने क्रममा बेनीका खगेन्द्र भण्डारीले बेगखोलामा मोटरसाइकल ट्र्याक्टरमाथि चढाएर तार्नका लागि एक हजार तिर्नुपर्यो।  

‘उर्लेर आएको बाढीमा मोटरसाइकल तार्न सकिएन,’ उनले भने, ‘एक हजार दिएपछि ट्र्याक्टरमाथि मोटरसाइकल चढाएर तारिदिए।’

कार्यालयको काम विशेषले सदरमुकाम बेनी आएर फर्कने क्रममा टिकोट माविका प्रअ प्रदीप पुन बाढीका कारण एक रात बेगखोलामै बास बस्नुपरेको बताउँछन्। 

कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ। पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ । बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ। 

बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएको छ। 

७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक बर्खायाममा बेगखोलामा दैनिकजसो अवरुद्ध गराउने अन्नपूर्ण ६ पोखरेबगरका खड्ग गिरीले बताए। 

‘रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका नागरिकलाई आवतजावत गर्न गाडी परिवर्तन गर्नुपर्ने झन्झट र सास्तीका साथै जोखिम भएको छ,’ उनले भने। 

बेगखोलामा मोटरेबल पुल नबन्दासम्म आवतजावतलाई सहज बनाउन झोलुङ्गे पुल भए पनि बनाउनुपर्ने स्थानीयवासीको माग छ। 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले सडक विभागअन्तर्गतको पुल महाशाखाले बेगखोलामा मोटरेबल पुल बनाउन ठेक्का आह्वान गरिसकेको बताए।  

-रासस

प्रकाशित: Sep 25, 2020| 03:22 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।