विराटनगर- मोरङको बेलबारी नगरपालिका– ५ कसेनीका ४० वर्षीय चन्द्रकुमार राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १९ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ।
हत्या आरोपमा पक्राउ परेका ग्रामथान गाउँपालिका– ६ का जितेन्द्रकुमार चौधरी, बेलबारी नगरपालिका–६ का ३८ वर्षीय विशालकुमार खवास (गच्छदार) लगायतविरुद्ध कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको हो। घटनाका मुख्य नाईके जितेन्द्रकुमार चौधरी र विनय सरदार भएको प्रहरीले जनाएको छ।
गत भदौ १२ गते स्थानीयको झगडा छुट्याउन गएका राईलाई खुकुरी र बञ्चरो प्रहार भएको थियो। घटनामा मृतक राईका दाजु ४२ वर्षीय सईकुमार राई, भाई ३२ वर्षीय समुन्द्र राई र भतिज १६ वर्षीय गौरव राई गम्भिर घाइते भएका थिए।
स्थानीय लोहन्द्रा खोलामा बनाईइको भाटाको पुलको विवादमा दिनेश भनिने घनेन्द्र श्रेष्ठलाई कुटपिट गरिरहेको समूहलाई सम्झाउन पुगेका राईको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारका क्रममा भदौ १२ गते मृत्यु भएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा बुझाएपछि अदालतमा थुनछेक बहस जारी रहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए।