काठमाडौं– सानो कामले घरबाहिर निस्कँदा ठूलो रोग घरमा भित्रन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत गराएको छ।
जनस्वास्थ्यका मापदण्ड नअपनाई घरबाहिर निस्कँदा जोखिम हुने भएकाले रोगलाई सामान्य रुपमा नलिन र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन मन्त्रालयको अनुरोध छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्यका मापदण्ड पालना नगरेर संक्रमण बढेको बताएका छन्। सामाजिक र आर्थिक क्षेत्रका समस्यालाई ध्यानमा राखी दैनिक जीवनलाई सामान्यीकरण बनाउने क्रममा मानिसले कोरोनालाई बिर्सिएको भन्दै खतराको संकेत भएको उनी बताउँछन्।
आफूलाई नपरेसम्म यो केही होइन जस्तो लाग्छ भने त्यो भ्रमलाई भुल्न उनले आग्रह गरेका छन्। कामकाजी व्यक्तिहरु बाहिर निस्कँदा सतर्कता नअपनाए उनीहरुबाट घरमा कोरोना भित्रने हुनाले जेष्ठ नागरिक, दिर्घरोगीलाई कोरोनाबाट रोगबाट बचाउन ठूलो चुनौती रहेको मन्त्रालयले बताएको छ।
निषेधाज्ञा समाप्त भएको केही दिनमा नै काठमाडौं उपत्यकामा संक्रमणको दर तीव्र रुपमा बढेको मन्त्रालयले जनाएको छ।
संक्रमितको संख्यामध्ये करिब ५० प्रतिशत संक्रमितहरु काठमाडौंमा नै भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। काठमाडौं जस्ता घना बस्ती भएका क्षेत्रमा सामाजिक दूरी कायम गर्न गाह्रो हुनाले एक अर्कामा सहजै संक्रमण सर्न सक्ने उनले बताए।
नजिकिएको दशैंमा आफन्तकोमा आशीर्वाद लिन जाने क्रममा कोरोना कोसेली बोकेर नजान मन्त्रालयको अनुरोध छ।
लक्षणसहितका संक्रमित थपिँदै जाँदा व्यवस्थापनको चुनौती भएको मन्त्रालयले जनाएको छ। कोरोना केही होइन भन्ने सोच नपाल्न पनि मन्त्रालयको अनुरोध छ ।
प्रवक्ता गौतमले कोरोना बनावटी हो, यसले असर गर्दैन, सामान बेच्नको लागि बनाइएको हो भन्ने मानसिकता भएकालाई कोरोनाका कारण विश्वभर मृत्यु भएका ९ लाख ८२ हजार मानिसको मृत्युको उत्तर खोज्न अनुरोध गरेका छन्।