काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाराले नेपाली १२ लाख १६ हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ।
सिम्रौनगढ नगरपालिका– ९ बसवरिया नहर नजिकै चोरीका मोबाइलहरू खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले टोलीले नक्कली रुपैयाँ बरामद गरेको हो।
बारागढी गाउँपालिका– ५ सिघासनीका २३ वर्षीय बलिराम चौधरी र भारत बिहार घर भएका २७ वर्षीय संदिप कुमारको साथबाट प्रहरीले नक्कली रुपैयाँ बरामद गरेको हो।
‘हामीलाई चोरीका मोबाइल बिक्री भइरहेको भन्ने खबर आएपछि त्यहाँ पुगेका हौं,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डीएसपी गौमत मिश्रले भने,‘त्यहाँ पुग्दा पक्राउ परेका दुईजनाको साथमा नक्कली रुपैयाँ फेला परेको हो।’
झोलाभित्र रातो प्लाष्टिकमा लुकाएर राखिएको अवस्थामा एकहजारका १ हजार २१६ वटा नक्कली नोट फेला परेका हुन्।
ती नोटहरु मोबाइल बिक्री गरी प्राप्त भएको र मोबाइल खरिद गर्ने व्यक्तिहरूले नोटहरू दिएर ३० थान मोबाइल लिई फरार भएको पक्राउ परेकाले बयानमा भनेका छन्।
डिएसपी गौतमले उनीहरूको साथमा रहेका नक्कली नोट मोबाइल खरिद गरेर कसैले दिएको हो वा के हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।
मोबाइल लिएर फरार रहेका मानिसहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।