पोखरा– स्याङ्जाको पहिरोमा परेर हराइरहेका एकै परिवारका ९ जनाको शव भेटिएको छ। आज बिहान ६ बजेतिर वालिङ नगरपालिका १४ तमादीमा पहिरो जाँदा माया नेपालीको घर पुरिएको थियो।
पहिरोमा परी हराइरहेका मध्ये २७ वर्षे उमाकला नेपाली, ४८ वर्षे माया नेपाली, ३० वर्षे दीपक नेपाली, ६० वर्षे सानी नेपाली र ९ वर्षे विवश नेपालीको शव भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। १४ वर्षे विक्रम नेपाली, १९ वर्षे बिनीता नेपाली, २१ वर्षे कुलदीप नेपाली र ६–७ महिनाका काखे बालक रहेको प्रदेश प्रहरी कार्यालयका डीएसपी राजेन्द्रबाबु रेग्मीले बताए।
घाइते अवस्थामा भेटिएकी १६ वर्षकी मनिषा नेपालीको अवस्था गम्भीर रहेकाले उपचारका लागि पोखरा ल्याइएको छ। उक्त घरमा १० जना सुतेका थिए।
वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षकको कमाण्ड साथै सशस्त्र प्रहरी बल समेतको टोली खटिएर तत्काल खोजतलास थालेको थियो।
यसैगरी जिल्लाकै कालीगण्डकीमा पहिरोले घर पुर्दा १६ वर्षे विष्णुबहादुर परियार (दमै)को मृत्यु भएको प्रहरीले जनाएको छ।