काठमाडौं- अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ललितपुरको वाग्मती गाउँपालिकास्थित भट्टेडाँडामा दुईवटा टिपर र एउटा मोटरसाइकल पुरिएका छन्।
कान्ति लोकपथअन्तर्गत पर्ने भट्टेडाँडामा हिजो (बुधबार) बेलुका पहिरो जाँदा टिपर र मोटरसाइकल पुरिएको हो।
पहिरोमा परि ५ जना घाइते भएका छन्। त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।
पहिरोमा पुरेकाहरुको उद्धार गरी गाउँकै स्वास्थ्य चौकीमा सामान्य उपाचार गरिएको छ। गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए।
घाइतेलाई बोकेर ल्याउने अवस्था नभएकाले हेलिकोप्टरको प्रतिक्षा गरिराखेको प्रहरीले जनाएको छ।