चितवन- अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ।
बुधबार साँझबाट प्रतिसेकेन्ड ३ लाख १० हजार क्यूसेक पानीको सतह पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको हो।
गण्डकमा तीन लाख क्यूसेक प्रतिसेकेन्ड पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ। बिहीबार बिहान १० बजे पनि ब्यारेजमा तीन लाख १० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए।
निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ४ देखि ५ लाख क्यूसेक प्रतिसेकेन्ड मात्र भार वहन गर्न सक्ने अनुमान छ।
नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयबासीलाई सजगता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ।