मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कर्णालीमा स्याउ उत्पादन ५० प्रतिशतले घट्यो

कर्णाली प्रदेशमा जुम्लालाई स्याउ उत्पादनको राजधानी मानिन्छ। जुम्लामा ३ हजार ३५० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ।
 |  बुधबार, असोज ७, २०७७
nespernesper

देव राना

देव राना

बुधबार, असोज ७, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा जुम्लालाई स्याउ उत्पादनको राजधानी मानिन्छ। जुम्लामा ३ हजार ३५० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ।

triton college

१२ हजार घरधुरीमा झण्डै १ हजार ५ सयभन्दा बढी बगैँचाहरु छन्। गत आर्थिक वर्षमा जुम्लामा १२ हजार टन स्याउ उत्पादन भएको थियो। तर यो वर्ष ५ हजार टनमात्रै उत्पादन भएको छ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार उत्पादन घटेपछि स्याउको मूल्य अकाशिएको छ। जुम्लामा अहिले ए ग्रेडको १६०, बी ग्रेडको १५५ र सी ग्रेडको १५० रुपैयाँ प्रतिकिलो तोकिएको छ। उत्पादन घटेका कारण स्याउको मूल्य अझ बढ्न सक्ने देवकोटाको भनाइ छ।

गत वर्ष १५ सय टन स्याउ उत्पादन भएको मुगुमा पनि ७० प्रतिशत उत्पादन घटेको छ। स्याउ उत्पादन घटेपछि यो वर्ष बाहिरी जिल्लामा निर्यात नहुने जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख पञ्चलाल बुढाले जानकारी दिए। ‘उत्पादन घटेपछि बाह्य जिल्लामा निर्यात गर्ने स्याउ नै छैन,’ बुढाले भने, ‘यो वर्ष आफन्तलाई कोशेलीमात्रै भयो।’ अघिल्ला वर्षहरुमा स्याउ निर्यातका लागि कार्यालयले ४ हजारभन्दा बढी कार्टुन किसानलाई उपलब्ध गराएकोे थियो। यो वर्ष भने किसानले कार्टुनको माग नै गरेका छैनन्। स्याउ उत्पादन घटेका कारण सदरमुकाम गमगढीमा १०–१५ रुपैयाँ प्रतिदाना स्याउ बिक्री हुँदै आएको छ। मुगुमा १ हजार ७५ हेक्टरमा स्याउ उत्पादन हुने गरेको छ।

गत वर्ष ३ हजार २९६ टन स्याउ उत्पादन भएको डोल्पामा यो वर्ष ४ सय मेट्रिक टन मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका सहायक प्राविधिक बुद्धि बुढाथोकीले जानकारी दिए।

Metro Mart
vianet

कर्णालीका अन्य जिल्लामा पनि यस वर्ष ५० प्रतिशत स्याउ उत्पादन घटेको छ। कर्णाली प्रदेशका मुगु, कालिकोट, हुम्ला, जुम्ला र डोल्पा स्याउको पकेट क्षेत्र नै मानिन्छन्।

त्यस्तै सल्यान, जाजरकोटका केही उच्च क्षेत्रमा पनि स्याउ उत्पादन हुन्छ। तर यो वर्ष ५० प्रतिशतले स्याउ उत्पादन घटेको सम्बन्धित जिल्ला कृषि विकास कार्यालयहरुले जनाएका छन्। स्याउ फुल्ने समयमा असिना र पानी परेका कारण उत्पादनमा कमी आएको हो। ‘यो वर्ष आफैँमा स्याउ उत्पादन घट्ने वर्ष थियो,’ कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले भने, ‘जेठ, वैशाखमा सितलहर र असिना पर्दा उत्पादन आधा घटेको छ।’ एक वर्ष धेरै फल्ने र अर्काे वर्ष उत्पादन घट्ने देवकोटाले बताए। 

उत्पादन घटेपछि गत वर्षको तुलनामा स्याउको मूल्य बढेको छ। ‘गत वर्ष ८०–९० रुपैयाँमा बिक्री हुन्थ्यो, यो वर्ष १६० रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘उत्पादन घटेका कारण मूल्य बढेको हो।’ स्याउ उत्पादन घट्दा व्यवसायिक किसान मर्कामा परेका छन्। पछिल्लो समय जुम्लाका अधिकांश किसालने व्यवसायिकरुपमै स्याउ खेती सुरु गरेका छन्।

यातायातको सहज पहुँचसँगै उत्पादित स्याउले मूल्य पाउने भएपछि त्यहाँका किसानहरु परम्परागत खेती छोडेर व्यावसायिक रुपमा स्याउ खेतीतर्फ आकर्षित हुँदै आएका छन्। कर्णालीमा उत्पादित स्याउ सुर्खेत, नेपालगन्ज, सुर्खेत, पोखरा र काठमाडौंसम्म बिक्री हुन्छ। स्याउ निर्यातका लागि सम्बन्धित जिल्ला कृषि विकास कार्यालयले कृषकलाई कार्टुनसमेत उपलब्ध गराउँदै आएको छ। कर्णालीमा रेड डेलिसियस, गोल्डेन, चक्लेटीलगायतका जातका स्याउ खेती गरिन्छ।

दुर्गमको स्याउले पाउँदैन मूल्य

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ४ मा पर्ने रंग गाउँ स्याउ उत्पादनको पकेट क्षेत्र हो। हिजोआज बगैँचाहरुमा कृषकलाई स्याउ टिप्न भ्याइनभ्याई छ। त्यहाँका २२० घरधुरीले व्यवसायिक रुपमा स्याउ खेती गरेका छन्। त्रिपुराका सुँ, जीँउ जुफाल, डाँगीबाडा, तिप्लालगायतका विभिन्न गाउँमा स्याउको व्यवसायिक उत्पादन हुने गर्दछ। कृषकले मकै, कोदो, चिनो, फापर छोडेर व्यवसायिकरुपमै स्याउ खेती गर्दै आएका छन्।

तर सडक यातायातको पहुँच नहुँदा उत्पादन गरिएको स्याउले मूल्य पाउँदैन। जुफाल विमानस्थलबाट जहाजमा ढुवानी गर्दा भाडा नै चौगुणा बढी तिर्नुपर्छ। सडक मार्गबाट लैजाँदा आधा दर्जन ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने भएकाले बाटोमै कुहिने गरेको कृषक कमला बुढाले बताइन्। डोल्पामा उत्पादित स्याउ जिल्ला सदरमुकाम दुनै हुँदै अन्य जिल्लामा निर्यात गरिन्छ।

सडकको सहज पहुँच नहुँदा बाह्य जिल्लाका कर्मचारी र सदरमुकामका व्यापारीले कोशेलीको रुपमा जिल्लाबाहिर पठाउने गर्दै आएका छन्। केही किसानले भने उत्पादित स्याउ स्थानीयस्तरमा बनाइएका भण्डारणमा पुस–माघसम्म पनि राख्छन्। यसरी राखिएको स्याउ दुई–चार महिनासम्म मात्र सुरक्षित रहने कृषकहरु बताउँछन्। गाउँमा आधुनिक भण्डारण नहुँदा बर्षेनी सयौँ क्वीन्टल स्याउ कुहिएर खेर जाने गरेको कृषकहरुको गुनासो छ।

हालसम्म सडक सञ्जालमा नजोडिएको हुम्लामा स्याउ प्रतिदाना १० रुपैयाँका दरले बिक्री हुँदै आएको छ। जहाजबाट निर्यात गर्दा महँगो पर्ने भएका कारण सस्तोमा बिक्री गर्नुपरेको सिमकोट गाउँपालिका वडा नं. ४ कि मालती शाहीले बताइन्। गत वर्ष साढे १४ सय टन स्याउ उत्पादन भएको हुम्लामा यो वर्ष उत्पादन आधा घटेको छ। सडक सञ्जालको राम्रो पहुँच नभएका हुम्ला र डोल्पामा उत्पादित स्याउले बजार पाउने गरेको छैन।
 

प्रकाशित: Sep 23, 2020| 13:15 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्