काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को पाँचौं खेलमा आज डिफेन्डिङ च्याम्पियन मुम्बईले कोलकाता नाइट राइडर्स (केकेआर)को सामना गर्दैछ। अबुधाबीमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।
अबुधाबीमा मुम्बईले दुई खेल खेलिसकेको छ। तर, उसले दुवै खेल हारेको थियो।
सिजनको ओपनिङ खेलमा सहभागी बनेको मुम्बई चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भयो। यसहघि २०१४ मा केकेआरले नै ४१ रनले पराजित गरेको थियो।
यूएईमा मुम्बईको रेकर्ड धेरै खराब छ। सन् २०१४ मा लोकसभा चुनावका कारण आईपीएलको सुरुवाती २० खेल यूएईमा भएको थियो। त्यसबेला मुम्बईले पाँच खेल खेलेर सबैमा हार बेहोरेको थियो।
यता, केकेआरले यूएईमा खेलेका पाँचमध्ये २ खेलमा जित निकाल्दै ३ पराजय भोगेको थियो। त्यस्तै अबुधाबीमा भने केकेआरले तीन खेलबाट २ जित र एक हार बेहोरेको छ।
पाँच पटक आईपीएल फाइनल खेलेको मुम्बईले ४ पटक (२०१९, २०१७, २०१७ र २०१३) फ्रेन्चाइज लिग जितेको छ। यता कोलकाताले २०१४ र १०१२ मा दुई पटक फाइनल खेलेर दुवै पटक उपाधि जितेको छ।
आईपीएलमा मुम्बईले १८८ खेलमा १०८ खेल जित्दै, ५७.४४ को सफलता दर कायम गरेको छ। ऊ ७९ खेलमा पराजित बनेको छ।
यता केकेआरले १७८ खेलमध्ये ९२ जित र ८६ हार बेहोर्दै सक्सेस रेट ५२.५२ कायम गरेको छ।
आज प्रतियोगिताको समयमा अबुधाबीको आकाश सफा रहनेछ। त्यस्तै, तापक्रम २९ देखि ३८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।
क्रिकेट पण्डितका अनुसार मैदानमा टस जित्ने टिमले पहिले फिल्डिङ गर्न रुचाउने छ।