काठमाडौं– दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले साफ युवा प्रतियोगिता २०२० रद्द गरेको छ।
साफको आज (बुधबार) बसेको बैठकले सबै सदस्य राष्ट्रहरुसँग छलफल र अवस्थाको पूर्वमूल्यांकन गर्दै प्रतियोगित रद्द गर्ने निर्णय गरेको हो।
यो वर्षका लागि तीन युवा प्रतियोगित आयोजना गरिएका थिए। गत जुनमा भएको साफ सदस्य राष्ट्रहरुको भर्चुअल बैठकले साफ युवा खेलकुदबारे सेप्टेम्बरमा पुनर्मूल्यांकन गर्ने निर्णय गरेको थियो।
उक्त बैठकमा आउँदो डिसेम्बर अन्तिमसम्ममा कम्तिमा पनि दुई खेलकुदका लागि पहल गरिने बताएको थियो।
तर, कोरोना महामारीको अवस्थाका कारण प्रतियोगिता गर्न नसकिएको साफले बताएको छ। ‘साफले वर्तमान अवस्थाको मूल्यांकन गर्दै २०२० को तीन युवा खेलकुद रद्द गर्ने निर्णय गरेको छ,’ उसले जारी गरेको सूचनामा भनिएको छ।
कोरोनाको महामारीका कारण साफले साफ च्याम्पियनसिप २०२० लाई भने यसअघि नै २०२१ सम्मका लागि स्थगित गरिसकेको छ।