काठमाडौं– कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंग्लोरले टी–२० इन्डियन प्रिमियर लिग(आईपीएल)मा पहिलो जित निकालेको छ। उसले सनराइजर्स हैदराबादलाई १० रनले हराउँदै जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले सम्पूर्ण ओभर खेलेर पाँच विकेटको क्षतिमा १६३ रन बनाएको थियो। यता १६४ रनको लक्ष्य लिएर मैदान पसेको हैदराबाद भने १५३ रन बनाएर १९.४ ओभरमै सबै विकेट गुमाउन पुग्यो।
जितका लागि विष्फोटक ब्याटिङ गर्दै देवदत्त पडिक्कलले ५६ रन जोडे भने एबी डि भिलियर्सले ५१ रनको योगदान दिए। आरोन फिन्चले २९ रन बनाउँदा कप्तान विराट कोहली १४ रनमै आउट भए।
हैदराबादका टी. नटराजन, विजय शंकर र अविशेक शर्माले समान १–१ विकेट लिए।
यता जवाफी ब्याटिङमा आएको हैदराबादका जोन्नी ब्रिस्टव(६१ रन) र मनिश पाण्डे(३४)बाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। दुवै खेलाडी बलर युजवेन्द्र चाहलको शिकार भए। विजय शंकरलाई पनि शून्य रनमै आउट गर्दै चाहल प्लेयर अफ दि म्याच घोषित भए।
बैंग्लोरका नवदिप सैनी, शिवम् दुवेले समान २–२ विकेट लिए भने एक विकेट लिनेमा डेल स्टेयन रहे।
खेलपछि बैंग्लोरका कप्तान विराट कोहलीले जितका श्रेय चाहललाई दिनुपर्ने बताएका छन्। १२१ रन हुँदा हैदराबदको दुई विकेट मात्र झरेको थियो।
उसलाई त्यतिबेला ३० बलमा ४३ रनको आवश्यकता थियो। जतिबेला ६१ रनका साथ मैदानमा चम्किरहेका ब्रिस्टवको विकेट लिएर चाहलले गेम चेन्ज गरिदिए। १६ औं ओभरमा उनले अर्को पनि विकेट लिएका थिए।