काठमाडौं- विभिन्न १३ विद्यार्थी संगठनहरुले शैक्षिक सुधारका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई शुक्रबार मागपत्र बुझाएका छन्।
सयुंक्त विद्यार्थी संगठनका तर्फबाट शिक्षामन्त्री पोखरेललाई सातदिने अल्टिमेटमसहित मागपत्र बुझाएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए।
कोभिड– १९ सँगै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर नभएको, सरोकारवाला पक्षसँग छलफल नगरेको र विद्यालय, क्याम्पस र विश्वविद्यालयको शैक्षिक सत्र खेर जाने अवस्था देखिएको हुँदा सो मागहरुको बारेमा गम्भीरतापूर्वक छलफल गरी निकास निकाल्न मागपत्र पेस गरिएको हो।
मागपत्रमा निजी विद्यालय तथा क्याम्पसहरुले अनलाइन कक्षाका नाममा अनियमित र गैरकानुनी चर्को शुल्क उठाएकाले भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शिक्षण संस्थालाई कारबाही गर्नुपर्ने, सरकारले भर्ना गर्ने सार्वजनिक गरेको मितिदेखि मात्रै तोकिएको शिक्षण शुल्क लिन पाउने व्यवस्था गर्नुपर्ने, कोभिडका कारण अलपत्र परेका गरिब विद्यार्थीलाई जीविकोपार्जन र कोठाभाडाको सन्दर्भमा तत्काल राहत प्याकेज घोषणा गर्न माग गरिएको छ।
यस्तै विद्यार्थी संगठनहरुले पोखरा, नेपाल संस्कृत, कृषि तथा वनलगायत विश्वविद्यालयमा खुला प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्ति गर्न माग गरिएको छ।
विद्यार्थीले सरकारी छात्रवृत्तिलाई दोब्बर गरी वैज्ञानिक र व्यावहारिक मापदण्ड बनाई पारदर्शी ढंगले कार्यान्वयन गर्न माग गरेका छन्।
एसईईमा अन्य विषय उतीर्ण गरेका तर गणितमा डी ग्रेड ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुने व्यवस्था गर्न र कक्षा ११ को भर्नामा मनपरी शुल्क असुल बन्द गर्नुपर्ने माग उनीहरुको छ।
शिक्षण संस्थामा बनाइएका सम्पूर्ण क्वारेन्टिन हटाउन, शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको योजना बनाई कक्षा सञ्चालनको वातावरण बनाउन, कक्षा १२, क्याम्पस र विश्वविद्यालय तहका रोकिएका, नियमित तथा आंशिक परीक्षा सञ्चालनको ठोस मापदण्ड बनाई सञ्चालन गर्न माग गरिएको छ।
मागपत्रमा अनेरास्ववियुका संयोजक ऐन महर, नेविसंघका अध्यक्ष राजीव ढुंगाना, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले हस्ताक्षर गरेका छन्।
यस्तै अखिल छैटौंका अध्यक्ष विमल पोखरेल, अखिल क्रान्तिकारीका अध्यक्ष, हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अखिल पाँचौंका अध्यक्ष घनश्याम मिश्रले हस्ताक्षर गरेका छन्।
मागपत्रमा हस्ताक्षर गर्ने अन्यमा राष्ट्रवादी विद्यार्थी संघका उपाध्यक्ष हिमाल थापा, राष्ट्रिय विद्यार्थी संघका महासचिव रन्जित निष्पक्ष, अनेवियुका सचिवालय सदस्य मनीष भट्टराई, राप्रविसं संयुक्तका अध्यक्ष धनसुर शाही र राप्रविसंघका अध्यक्ष महेशबहादुर सिंह छन्।