भैरहवा–‘बन्दाबन्दीको स्थिति कायम रहँदा तनमन त्रसित अनि स्वास्थ्यको साथसाथै परीक्षाको चिन्ताले हामी विद्यार्थीलाई सताइरहेको थियो । परीक्षा तालिका सार्वजनिक गर्दै विद्यार्थीलाई तयार रहन भनिरहँदा पनि अवस्था सामान्य नभएको भन्दै परीक्षा स्थगित भइरह्यो। तथापि विद्यार्थी, अभिभावकको समन्वयमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै घरपायक पर्नेगरी सुरु भएको परीक्षाले हामी तनावबाट मुक्त भएका छौं।’
लुम्बिनी बौद्ध विश्वविद्यालय स्नातक तह कानुन विषयको परीक्षा दिइरहेकी सिमाना थापा क्षेत्रीको फेसबुक स्टाटस हो यो। बुटवलको कान्ति माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी थापाले परीक्षा हुन्छ कि हुँदैन भन्ने अन्योल चिर्दै भएको परीक्षाले विद्यार्थीलाई तनावमुक्त गराएको बताइन्। उनले भनिन्, ‘विश्वविद्यालयले घरपायक गर्नेगरी गरेको परीक्षा विद्यार्थीमैत्री काम हो।’
नवीन औद्योगिक माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी विमला भण्डारी पनि सिमानाजस्तै दंग छिन्। ‘कोरोना महामारीको समयमा परीक्षा दिँदा संक्रमण फैलिने हो कि भन्ने डर त थियो, तर विश्वविद्यालयले मास्क, स्यानिटाइजर, पञ्जा र भौतिक दूरीलाई ध्यान दिएको रहेछ। परीक्षा केन्द्र व्यवस्थित छन्। हामीले निर्धक्क भएर परीक्षा दिन पाएका छौं। यतिबेला कोरोनाको कुनै डर छैन। परीक्षाको तयारीमा ढुक्क भएर लागेका छौं,’ विमलाले भनिन्।
कोरोना महामारीको संक्रमण फैलिन सक्ने डरले विश्विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुले परीक्षा गर्न नसक्दा शैक्षिक सत्र नै खेर जाने हो कि भन्ने चिन्ता विद्यार्थीलाई थियो।
यस्तो बेलामा लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीको घर पायकमा परीक्षा केन्द्र तोकेर परीक्षा चलाइरहेको छ। यसले विद्यार्थी र अभिभावकमा खुसीको सञ्चार प्रवाह गरेको लुम्बिनी बौद्ध विश्वविद्यालय विद्यार्थी काउन्सिलका सभापति कमल रायमाझीले बताए।
विश्वविद्यालयले स्नातकोत्तर तह र स्नातक तहको परीक्षा आइतबारदेखि सञ्चालन गरेको हो। कानुनतर्फ मात्रै पहिलो सेमेस्टरका ८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्। परीक्षामा शतप्रतिशत विद्यार्थीको सहभागिता रहेको विश्वविद्यालयले जनाएको छ।
शुक्रबार सकिने परीक्षामा अहिलेसम्म कुनै पनि किसिमको समस्या नआएको विश्वविद्यालयले बताएको छ। घर पायकमा भइरहेको परीक्षा धेरै अध्ययन गरेर लिइएको विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यले बताए।
उनले भने, ‘क्लस्टर छुट्याएर आइपर्न सक्ने समस्याको विश्लेषण गरी परीक्षा केन्द्र तोकेका हौं। अस्पताल नजिक भएको, मुख्य राजमार्गको नजिक, खुला र ठूला भवन भएको ठाउँलाई केन्द्र तोकेका छौं। विद्यार्थीहरु जहाँ छन्, त्यहीँ बसेर परीक्षा दिने वातावरण बनायौं।’
लुम्बिनी, काठमाडौं, कपिलवस्तु, नवलपरासी, बुटवल, अर्घाखाँची र हुम्लामा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिहेको विश्वविद्यालयले बताएको छ। विश्वविद्यालयले केही दिनमै बिबिटिटिएमको परीक्षा गर्नेगरी सूचना निकालिसकेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले नयाँ मोडलको परीक्षा सञ्चालन गरेर विश्वविद्यालय क्षेत्रमा सिर्जना भएको अन्योल चिरेको शिक्षाका जानकार बालकृष्ण भट्टराईले बताए। उनले भने, ‘सबै विश्वविद्यालय अन्योलमा छन्। लाखौं विद्यार्थी परीक्षा होला कि नहोला भनेर चिन्तित छन्। यस्तो अवस्थामा भौतिक दूरी कायम गरेर गरिएको परीक्षा राम्रो देखिएको छ।’
स्नातकोत्तर तहमा अनलाइन र स्नातक तहमा फिजिकल परीक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धिश्वरमान श्रेष्ठले बताए।
उनले भने, ‘भदौ २१ गतेदेखि परीक्षा भइरहेका छन्। यो सकिएलगत्तै असोज ५ देखि अर्को कार्यक्रमको परीक्षा गर्ने तयारीमा छौं।’
स्यानिटाइजर, मास्क, पञ्जा अनिवार्य गरेर एउटा सेन्टरमा बढीमा १५ जनासम्म राखेर परीक्षा भइरहेको छ। उनले भने, ‘जहाँ विद्यार्थी छन्, त्यहीँ परीक्षा गरेका छौं। हुम्लामा एकजना विद्यार्थी छन्, उनको त्यहि नै स्थानीय क्याम्पससँग समन्वय गरेर परीक्षा गराएका छौं।’
हुम्लाका विद्यार्थी खड्क जैसीले मानसरोवर बहुमुखी क्याम्पसको केन्द्रबाट परीक्षा दिइरहेका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयले मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख वसन्त रोकायलाई परीक्षा केन्द्राध्यक्षको जिम्मेवारी दिएको छ।
विश्वविद्यालयले हुम्लामा प्रश्नपत्र जुन दिन जुन विषयको हुन्छ, त्यही दिन परीक्षा शुरु हुनु भन्दा केही मिनेट अगाडि इमेलमार्फत् पठाउने गरेको छ। उत्तरपुस्तिका समेत ईमेलबाटै विश्वविद्यालयमा आउने गरेको छ।
परीक्षा नियन्त्रक श्रेष्ठले भने, ‘हामीले बिहान पौने ७ बजे सबै केन्दाध्यक्षलाई सम्पर्क गर्छौ। १० मिनेट अगाडि प्रश्नपत्र पठाउँछौं। परीक्षा सकिसकेको १० मिनेटमा हामीलाई केन्द्राध्यक्षले उत्तरपुस्तिकाको तस्बिर खिचेर पठाउनुहुन्छ। पछि परीक्षा सकिसकेपछि कोरोनाको महामारी सामान्य भएपछि उत्तरपुस्तिका पनि सिल गरेर पठाउनुहुन्छ।’
दसैं अगाडि सकेसम्म सबै तहको सबै विषयको परीक्षा सक्नेगरी कार्यक्रम बनाइरहेको परीक्षा नियन्त्रक श्रेष्ठले बताए।