काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको बताएका छन्।
बिहीबार बिहान भिडियो सन्देश जारी गर्दै कोइरालाले नेता–कार्यकर्ता र शुभचिन्तकलाई चिन्ता नगर्न आग्रह गरेका छन्।
चाबहिलमा रहेको ओम नर्सिङ होमको आइसोलेसनमा कोइरालाको उपचार भइरहेको छ। ‘म कोभिड–१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु,’ उनले सन्देशमा भनेका छन्,‘तपाईंहरुले चिन्ता गर्नु पर्दैन। दुई–तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु।’
मंगलबार शरीरको तापक्रम बढेपछि कोइरालालाई अस्पतालमा भर्ना गरिएको थियो। २३ भदौमा गरिएको परीक्षणमा कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको थियो।