काठमाडौं- कोरोनाको महामारीसँगै दर्शन गर्न बन्द गरिएको पशुपतिनाथ खोल्नु पर्ने मागसहित प्रदर्शन भएको छ ।
पशुपति क्षेत्रमा शिवसेना नेपाल नामको धार्मिक संस्थाको अगुवाइमा युवासहितको समुहले प्रदर्शन गरेको हो । मन्दिर बन्द गरेर कोरोना नरोकिने भन्दै उनीहरुले पशुपतिनाथको दर्शन गर्न खुल्ला गर्नुपर्ने माग गरेका छन् ।
सुरक्षाका सबै उपाय अपनाएर पशुपतिनाथ खुल्ला गरिनु पर्ने उनीहरुको माग छ । लाखौं हिन्दु धर्मालम्बीको आस्थामा चोट पुर्याउने काम भएको भन्दै यसलाई रोकिनु पर्ने उनीहरुको भनाइ छ ।
प्रदर्शनकारीको भिड बढेपछि सयभन्दा बढी प्रहरी भिड हटाउन खटिएका थिए । प्रहरीले लखेटेपछि प्रदर्शनकारी तितरबितर भएका थिए । अहिले पनि पशुपति क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ ।