काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत मझार जाभेदबीच आज शिष्टाचार भेट भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गरे। उनले मानव जातिलाई परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिँदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरेका छन्।
चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत जाभेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोग्रति आभार प्रकट गरेका छन्।