बाँके– नेपालगन्जको भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार सफल भएको छ ।
प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारी उत्साहित भएका छन् ।
यसले थप हौसला थपिएको प्लाज्मा थेरापी उपचारका विज्ञ डा खगेन्द्रजंग शाहले बताए ।
प्लाज्मा थेरापी उपचारमा अस्पतालले पहिलो बिरामीमै सफलता पाएको हो । प्लाज्मा विधि सफल भएपछि अस्पतालले अन्य सङ्क्रमितलाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ ।
उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भेरी अस्पतालमा भर्ना भएका शारदा नगरपालिका ६, सल्यानका २९ वर्षीय प्रवीण केसीमा प्लाज्मा थेरापी गरिएको थियो । उनको उपचारमा यो विधि सफल भएको हो ।
केसीलाई १२ भदौमा भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखिएपछि उनको कोरोना जाँच गर्दा भदौ १३ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
निमोनिया भई स्वास्थ्य अवस्था झनझन बिग्रिँदै गएपछि उनको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो । केसी निको भएर आइतबार घर फर्किएका छन् ।
– रासस