बुधबार, चैत ११, २०८२

'८० प्रतिशत आत्महत्या रोक्न सकिन्छ'

आत्महत्या गर्ने मानिसले आत्महत्या गर्नु अगाडि नै लक्षण देखाएका हुन्छन्। ती लक्षणलाई सुरुमै पहिचान गर्न सकेमा उनीहरुलाई जोगाउन सकिन्छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

प्रत्येक वर्ष विश्व स्वास्थ्य संगठनले सेप्टेम्बर १० मा विश्व आत्महत्या विरुद्धको दिवस मनाउने गरेको छ। नेपालले पनि सेप्टेम्बर १० मा नै यो दिवस मनाउँदै आएको छ।

National life

नेपालमा प्रत्येक वर्ष ६ हजार मानिसहरुले आत्महत्या गर्छन्। प्रत्येक दिन १६ जनाले आत्महत्या गर्छन्। तर पछिल्लो ५ महिनामा आत्महत्या गर्नेको दर २० प्रतिशतले बढेको छ। झण्डै २० जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमध्ये ८५ प्रतिशतमा मानसिक रोग हुन्छ। जसमा १५ प्रतिशत डिप्रेसन भएका मानिस हुन्छन् भने १५ प्रतिशत लागु पदार्थ सेवन गर्ने र पागलपन भएका मानिसहरु १० प्रतिशत रहेको देखिन्छ।

पछिल्लो समय महिलाहरुले घरेलु हिंसाका कारण आत्महत्या गरेको देखिएको छ। यसको मुख्य कारण सामाजिक, साथीभाइको संगत, पारिवारिक, व्यक्तिगत कारण लगायत अन्य कारणहरु देखिएको छ।

आत्महत्या गर्ने उमेर समूहमा २५ देखि ४० वर्ष उमेर समूहका बढी छन्। उक्त उमेर समूहका पनि महिलाहरुले बढी आत्महत्या गर्ने गरेका छन्। साथै एकल महिला र शिक्षित मानिसहरु नै बढी आत्महत्या गरेका हुन्छन्।

आत्महत्या गर्नेले लक्षण देखाउँछन्

Laxmi sunrise bank
kumari

आत्महत्या गर्ने मानिसले आत्महत्या गर्नु अगाडि नै लक्षण देखाएका हुन्छन्। ती लक्षणलाई सुरुमै पहिचान गर्न सकेमा उनीहरुलाई जोगाउन सकिन्छ। आत्महत्या गर्नु अगाडि उनीहरुले पहिलेदेखि नै योजना बनाउने हुन्छन्।

उनीहरु एक्लै बस्ने, मर्ने तरिका सोच्ने, नकारात्मक लेखहरु लेख्ने, कम बोल्ने, घुलमिल नगर्ने गर्छन्। कतिपयले उपचार गर्न नचाहने पनि हुन्छन्। यसरी आत्महत्या गर्न खोज्नेलाई पहिचान गरी परामर्शको माध्यमबाट उनीहरुलाई बचाउन सकिन्छ।

उपचार हुन्छ

८० प्रतिशत आत्महत्यालाई रोकथाम गर्न सकिन्छ। यसका लागि २ विधिबाट उपचार गरिन्छ। आत्महत्याको संकेत पाएको खण्डमा पिर–चिन्ता नगर्नु भनेर सम्झाउने गरेको पाइन्छ। तर, त्यसो गरेर हुँदैन। चिन्ता गर्नु हुँदैन भन्ने त सबैलाई थाहा हुन्छ नि।

बरु उसलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। उसलाई समाजमा घुलमिल गर्न सहयोग गर्ने, उसका मनका कुरा बाहिर ल्याउन सहयोग गर्ने, ऊसँग गफ गर्ने गर्नुपर्छ। तर त्यो प्रयास गाह्रो हुन्छ। अर्को कुरा केमो थेरापी अर्थात् औषधि पनि हुन्छ। औषधि र साइकोथेरापीलाई एकैसाथ लैजान सकिए आत्महत्या कम गर्न सकिन्छ।

 डा. रोशन पोखरेल, मानसिक रोग विषेशज्ञ

आत्महत्या न्यूनीकरणको लागि शारीरिक व्यायाम, योग, श्वास लिने तरिका, मेडिटेसन, खाने, सुत्ने तालिका नियमित बनाउनु पर्छ। साथै पर्याप्त परामर्श लिनुपर्छ।

कोरोनाको समयमा एन्जाइटी हुने, डराउने, आत्तिने समस्या धेरै देखिएको छ। डर मान्दिन भनेर हुँदैन, तर डरलाई जित्नुपर्छ। डरकै कारणले काम गर्ने शैली, खाना तथा निन्द्रामा परिवर्तन हुन थाल्यो वा दैनिक क्रियाकलापमा परिवर्तन हुन थाल्यो भने त्यसलाई समस्याको रुपमा लिनुपर्छ। मानिसले आत्महत्याको समयमा देखाउने सामान्य लक्षणलाई पनि बेवास्ता गर्नु हुँदैन।

आत्महत्याको सोच आउने मानिसहरुले आफूलाई भएका कुराहरु भन्न चाहँदैनन्, लुकाउन खोज्छन्। तर उनीहरुको भित्रि कुरा जान्न आवश्यक छ र उनीहरुलाई कस्तो प्रकारको परामर्श वा उपचारको खाँचो पर्ने हो त्यसको व्यवस्था गर्नुपर्छ।

कोभिडका कारण बालबालिकाहरु यतिबेला लामो समयदेखि घरमै छन्। उनीहरुमा रिसाउने, झर्किने लगायत समस्या देखिन थालेको छ। त्यसलाई अभिभावकले झर्को नमानी समाधान गर्नुपर्छ। उनीहरुको दैनिक क्रियाकलापको तालिका बनाएर समय दिनु आवशयक छ।

आत्महत्या रोकथाम तथा परामर्शको लागि आजदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६११ नम्बरको फोन सञ्चालनमा ल्याएको छ भने त्रिवि शिक्षण अस्पतालले १०६००१२१६०० टोल फ्री नम्बर सञ्चालन गरेको छ। यी नम्बरको सदुपयोग गरौं।

(डा. पाेखरेलले बिहीबार स्वास्थ्य मन्त्रालयकाे काेभिड-१९ प्रेस ब्रिफिङका क्रममा राखेकाे विचार) 

प्रकाशित: Sep 10, 2020| 18:07 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्