शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चिनीका विषयमा सरकारकै दुई निकायबीच 'दोहोरी', व्यापारीका पक्षमा विभाग

चिनीका विषयमा सरकारकै दुई निकायबीच 'दोहोरी', व्यापारीका पक्षमा विभाग

चिनीका विषयमा सरकारकै दुई निकाय 'दोहोरी'मा उत्रिएका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- चिनीका विषयमा सरकारकै दुई निकाय 'दोहोरी'मा उत्रिएका छन्। अधिकांश सेयर सरकारको नाममा भएको साल्ट ट्रेडिङले बजारमा पर्याप्त मात्रमा चिनी नभएको बताइरहँदा अर्को बजार नियमन गर्ने अर्को सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने बजारमा पर्याप्त चिनी रहेको बताइरहेको छ। 

सहुलियतमा चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनी सकिएको यसअघि नै उल्लेख गरेको थियो। बुधबार विज्ञप्ति जारी गर्दै विभाले भने बजारमा पर्याप्त मात्रामा चिनी रहेको दाबी गरेको छ। सरकारले चिनी आयातका लागि भन्सार छुट नदिँदा चिनीको अभाव भइरहेको दाबी साल्ट ट्रेडिङले गर्दै आएपनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अभाव नरहेको दाबी गरेको हो। 

विभागका प्रवक्ता शिवराज सेढाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा बजारमा चिनीको अभाव रहेको झुटो कुरा रहेको उल्लेख गरिएको छ। ‘चिनी लगायत केही खाद्य वस्तुको अभाव रहेको भन्ने झुटा एवम् अनर्गल हल्ला चलाई उपभोक्ताहरुमा भ्रम सिर्जना गर्ने दुस्प्रयास भइरहेकोप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘पैठारी भएको परिमाण र खपतका आधारमा अझै बजारमा तीन महिनाभन्दा बढी अवधिलाई पुग्ने चिनी उपलब्ध छ।’विभागले थप परिमाणमा चिनीको आयातसमेत भइरहेको उल्लेख गरेको छ। 

यसअघि साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारी सहुलियतमा चिनी आयात गर्दै आएकोमा पछिल्लो समय सरकारले निजी व्यवसायीलाई नै संरक्षण गर्दै आएको छ। निजी व्यवसायीले साल्ट ट्रेडिङसँग चिनी नभएको मौकामा चिनीको मूल्य मनपरि असुल गर्दै आएका छन्। विभागले अनुगमन गरी मनपरी मूल्य नियन्त्रणमा चासो देखाउनुको सट्टा व्यवसायीकै पक्षमा विज्ञप्तिबाजी गरेर व्यवसायीको मनोबल झन् बढाउने काम गरिदिएको छ।

प्रकाशित: Sep 22, 2021| 16:10 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्