काठमाडौं– नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले अनलाइन वक्तृत्वकला र आर्ट (चित्रकला) प्रतियोगिता आयोजना गर्ने भएको छ। उसले आउँदो अक्टोबरमा मनाइने ‘वर्ल्ड स्पेस विक’को अवसरमा प्रतियोगिता गर्ने भएको हो।
सन् १९५७ अक्टोबर ४ मा रसियाले पहिलोपटक स्पुत्निक–वान नामक मानव रहित रकेट अन्तरिक्षमा पठाएको थियो। यही दिनको स्मरणमा १९९९ बाट विश्वभरी अक्टोबर ४–१० तारिखमा ‘वर्ल्ड स्पेस विक’ मनाइन्छ। नेपालमा भने २००७ बाट मनाइँदै आएको नासोका अध्यक्ष सुरेश भट्टराईले बताएका छन्।
दुवै प्रतियोगितामा सहभागी प्रतियोगिले एउटै शीर्षक ‘सेटेलाइट इम्प्रुभ लाइफ’ बारे आर्ट–वक्तृत्व पठाउनुपर्ने छ। त्यस्तै प्रतियोगितामा सहभागी बन्नका लागि आउँदो सेप्टेम्बर १७ (असोज १ गते) सम्म रजिष्ट्रेसन गरिसक्नु पर्नेछ। असोज १ गते विज्ञान दिवस पनि हो।
वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्। साथै प्रतियोगिले ‘सेटेलाइट इम्प्रुभ लाइफ’ शीर्षकमा ३ देखि पाँच मिनेटको भिडियो रेकर्ड पठाएर सहभागी हुन पाउनेछन्।
छानिएका भिडियो नासोको युट्युब च्यानलमा राखिनेछ, जहाँ ५० प्रतिशत पब्लिक भोटिङ र ५० प्रतिशत निर्णायकले निर्णय गरेर विजेता घोषित गरिने छ।
त्यस्तै, चित्रकला प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीमात्र सहभागी बन्न पाउने छन्। प्रतियोगीले एफोर पेपरमा चित्र बनाएर सहभागी बन्नु पर्नेछ।
प्रतियोगितामा छानिएका चित्रहरु नासोको फेसबुक पेजमा प्रकाशन गरिनेछन्। पेजको पब्लिक भोटिङ र जुरीको निर्णय अनुसारका आधारमा विजेता छनोट गरिने छ।
दुवै प्रतियोगितामा सहभागी बन्नका लागि ३०० रूपैयाँ दस्तुर तोकिएको छ। यो रकम इ–सेवा र खल्तीबाट तिर्न सकिने नासोका अध्यक्ष भट्टराईले बताए ।
वक्तृत्वकलाको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले तीन हजार नगद पुरस्कार पाउने छ। त्यस्तै चित्रकलामा पहिलो दोस्रो र तेस्रो हुनेले पनि विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
चित्रकला प्रतियोगितामा सहभागी बन्ने लिंक
वक्तृत्वकला प्रतियोगितामा सहभागी बन्ने लिंक