काठमाडौं– ब्राजिलको राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीले पुरुषकै बराबर तलब पाउने भएका छन्। अहिलेसम्म अष्ट्रेलिया, नर्वे र न्यूजिल्याण्डमा मात्रै पुरुष र महिला खेलाडीलाई बराबर रकम तलब दिइन्थ्यो।
खेलमा लैंंगिक भेदभावको लामो इतिहास रहे पनि हालका वर्षहरुमा केही सुधार देखिँदै छ।
ब्राजिलको राष्ट्रिय फुटबल एसोसिएसनले गरेको परिवर्तनसँगै अब ब्राजिलको महिला टिमका कम चर्चित खेलाडीले पनि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडीहरु नेयमार जुनियर, थिएगो सिल्वा, रोबेर्तो फार्मिङ्गोले पाउने बराबर तलब पाउने छन्। ब्राजिलको पुरुष टिमले पाँच पटक फुटबल विश्वकप जितिसकेको छ।
ब्राजिलको महिला फुटबल टिम पनि खेलमा राम्रै मानिन्छ। तर, महिला खेलाडीले अन्य खेलमा जस्तै न त उति सारो विज्ञापन पाउँछन्, न त प्रायोजक नै। महिलाका प्रतियोगितामा दर्शक पनि निकै कम हुन्छन्।
सन् २००७ मा ब्राजिलको महिला टिमले विश्वकप फाइनल खेलेको थियो र त्यसअघि २००४ मा ओलम्पिकको फाइनलमा पुगेको थियो।
आगामी वर्ष टोक्योमा हुने ओलम्पिक र त्यसपछि हुने विश्वकपमा ब्राजिलको राष्ट्रिय टोलीका महिला र पुरुषले बराबर पैसा कमाउने छन्।
बाँकी विश्व र नेपालको अवस्था
अमेरिकामा पनि महिला टोलीले पुरुषबराबर तलब पाउनुपर्ने माग उठिरहेको छ। त्यसको लागि त्यहाँको एक अदालतमा रिट पनि परेको थियो। तर, अदालतले उक्त रिट खारेज गरिदिएको छ। अमेरिकी महिला फुटबल टोलीले यो फैसलाविरुद्ध अपिल गरेको छ। अमेरिका महिला फुटबल विश्वकप २०१९ को च्याम्पियन हो।
उता, युरोपका सबैभन्दा चर्चित १६ फुटबल क्लबसँग अहिले पुरुष र महिला दुबै फुटबल टिम छन्। हालै रियाल म्याड्रिड पनि एउटा सानो क्लब ‘डेपोर्टिभो टाकोन’ लाई किनेर यो सूचीमा समावेश भएको छ।
ठूलो युरोपेली क्लबमा अब बोरुसिया डार्टमुन्डको मात्रै महिला टिम छैन।
छिमेकी भारतमा ‘इन्डिया फुटबल फेडेरेसन’ले पुरुष वा महिला राष्ट्रिय टोलीका खेलाडीलाई निश्चित तलब दिँदैन। फेडेरेसनका महासचिवले एक पत्रिकालाई बताएअनुसार क्लबहरुले मात्रै निश्चित तलब दिन्छन्।
‘कुनै टुर्नामेन्ट वा क्याम्प आयोजना भयो भने फेडेरेसनले खाने, बस्ने लगायत सबै खर्च व्यहोर्छ र निश्चित दैनिक भत्ता दिन्छ। यस्तो सुविधा–भत्ता पुरुष र महिलामा फरक हुँदैन,’ महासचिव कुशल दासले भनेका छन्।
प्रतिस्पर्धा जितेपछि पाउने विनिङ बोनस भने खेलाडीको प्रदर्शन र टुर्नामेन्टको स्तर अनुसार दिने गरेको उनले बताएका छन्।
यद्यपि, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता जित्ने खेलाडी वा टिमलाई भारतीय सरकार, प्रदेश सरकार र अन्य संस्थाले तत्काल घोषणा गरेर दिने पुरस्कारमा भने महिला र पुरुषबीच फरक हुने गरेको पाइन्छ।
नेपालमा राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीले मासिक १५ हजार रुपैयाँ मासिक तलब पाउँछन्। महिलाका लागि भने यो रकम आधाभन्दा अलि कम अर्थात् ७ हजार रुपैयाँमात्र छ।
त्यस्तै विदेशमा खेल्न जाँदा महिला र पुरुष दुबैलाई प्रतिदिन ३५ अमेरिकी डलर भत्ता उपलब्ध गराइन्छ। मैत्रीपूर्ण खेलमा भने उनीहरुले २५ डलरमात्र पाउँछन्।
क्रिकेटमा भने पुरुष खेलाडीलाई फुटबल खेलाडीलाई भन्दा पनि राम्रो तलब दिइन्छ। खेलाडीलाई ए, बी र सी मा वर्गीकरण गरिएको छ र उनीहरुले त्यहीअनुसार तलब पाउँछन्। ए ग्रेडकाले ४५ हजार, बी ग्रेडकाले ३५ हजार र सी ग्रेडकाले २५ हजार रुपैयाँ मासिक तलब पाउँछन्।
तर, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीले भने एक रुपैयाँ पनि मासिक तलब पाउँदैनन्।