पोखरा- ‘जागौं पोखरा अभियान’ ले आज पोखरा महानगरपालिका अगाडि धर्ना दिएको छ।
महानगरले आर्थिक पारदर्शिता नगरेको र यसअघि सार्वजनिक भएको हिसाबकिताब पारदर्शी नभएको भन्दै धर्ना दिएको हो। प्लाकार्डसहित प्रदर्शन र धर्नामा उत्रिएका अभियन्ताहरुले महानगरलाई १३ करोड रुपैयाँको हिसाब सार्वजनिक गर्न माग गरेका थिए।
उक्त रकमबारे स्पष्ट पार्नु पर्ने र महानगरका पछिल्लो १० वर्षका सबै कर्मचारीका सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने अभियानकी संयोजक शिरिष गुरुङले बताइन्।
यसैगरी, कर्मचारी सेवा ऐन २०७६ समेत स्थगित गर्नुपर्ने माग रहेको गुरुङको भनाइ छ। धर्ना कार्यक्रम मंगलबारसम्म रहनेछ।
महानगरले भने १३ करोड रुपैयाँको हिसाब माग्नु अनुचित भएको बताएको छ।
यसअघि नै यसबारे अभियानलाई जानकारी दिएको बताउँदै महानगरले पौने २ करोडको हिसाब बाँकी रहेको जनाएको छ। जसको हिसाब छिट्टै सार्वजनिक गर्ने महानगरले बताएको छ।
