काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रणका लागि नागरिक सचेतनात्मक कार्यक्रम सुरू गरेको छ।
शनिबारदेखि उपत्यकाका तीनवटै जिल्लाका विभिन्न स्थानहरुमा सप्ताह व्यापी सचेतनात्मक कार्यक्रम शुरू गरिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए।
‘अत्यधिक भीडभाड हुने ठाउँ, खाद्यवस्तु, तरकारी लगायत बिक्री वितरण हुने ठाउँमा टोली खटिन्छ,’ उनले भने,‘त्यहाँ मास्क नलगाएलाई मास्क वितरण गर्ने, मास्क लगाउन सिकाउने र कोभिड–१९ का बारेमा जानकारी दिइनेछ।’
मास्क वितरण, स्यानिटाइजर वितरण लगायत स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्डका बारेमा ठाउँ–ठाउँमा सचेतनाका कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका १३ वटा स्थानहरुमा कार्यक्रम गर्न लागिएको हो। मन्त्रालयले स्वास्थ्यकर्मीसहित १० वटा सार्वजनिक गाडीहरु परिचालन गरेर कार्यक्रम गरिरहेको प्रवक्ता गौतमले जानकारी दिए।
हिसान, स्काउट, पब्लिक हेल्थकर्मी, युनिसेफ लगायतको सहकार्यमा कार्यक्रम शुरू गरिएको हो।
‘कोभिड–१९ का बारेमा नागरिकलाई सचेत गराउनुपर्ने अवस्था पनि देखियो,’ उनले भने,‘यसलाई हेलचेक्र्याइका रुपमा नबुझुन र प्रष्ट रुपले यो कसरी सर्छ, कसरी सुरक्षित हुने भनेर जानकारी दिन कार्यक्रम थालिएको हो।’
मन्त्रालयका अनुसार कोटेश्वर, कालिमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतीदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो र भक्तपुर क्षेत्रका सबै नगरपालिका क्षेत्रमा सचेतनात्मक कार्यक्रम गरिने छ।
यी क्षेत्रलाई मुख्य क्षेत्र मानेर आसपासका सबै चोक, सडक र वस्तीहरुमा स्वास्थ्यकर्मीहरुको सहितको टोली खटिने मन्त्रालयले जनाएको छ।