शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सर्वोत्तमको सेयरमा चलखेल : ढुंगाना संलग्‍न भएको पर्याप्त आधार, कारबाही गर्न सिफारिस

सर्वोत्तमको सेयरमा चलखेल : ढुंगाना संलग्‍न भएको पर्याप्त आधार, कारबाही गर्न सिफारिस

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगाना दोषि भएको पर्याप्त आधारहरु रहेकोले कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगाना दोषि भएको पर्याप्त आधारहरु रहेकोले कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ।

तत्कालीन अध्यक्ष रहँदा ढुंगानाले विदेशमा रहेकी छोरी रेविका ढुंगानाको नाममा नेपालमा नै बसेर आफैंले सर्वोत्तम सिमेन्टको सेयर ओटीसी मार्केटबाट किनेको पर्याप्त आधारहरु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

मंगलबार धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा बोर्डका अध्यक्ष ढुंगाना र नेपाल स्टक एक्सचेन्जका तत्कालीन प्रमुख कार्यकारी निर्देशक चन्द्रसिंह साउँद दुबै भित्रि कारोबारमा संलग्‍न भएको  पर्याप्त प्रमाणहरु रहेको उल्लेख छ।

छानबिन समितिले बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘ढुंगानाको छोरी रेविका अमेरिकामा रहे पनि नेपालको सम्पूर्ण कारोबारमा ढुंगाना आफैँ संलग्‍न देखिएका छन्। ढुंगानाले छोरी रेविकाको लक्ष्मी बैंकमा रहेको खातामा दुई पटक गरी पाँच लाख १० हजार रुपैयाँ डिपोजिट गरिदिएका थिए। त्यस्तै उनले आफ्नो नेपाल इन्भेष्टमेन्ट बैंकको खाताबाट छोरी रेविकाको खातामा २५ लाख रुपैयाँ पठाएको र उनको खाताबाट सर्वोत्तमको सेयरधनी शिखा अग्रवाललको खातामा २५ लाख रुपैयाँ पठाएको पाइएको छ।'

‘छोरी रेविकाको खातामा ढुंगानाले पुस २८ गते २५ लाख रुपैयाँ राखिदिएको देखिएको छ भने रेविकाले शिखा अग्रवाललाई माघ २६ गते २५ लाख रुपैयाँ पेमेन्ट गरेको देखिएको छ,' प्रतिवेदनमा उल्लेख छ। 

सर्वोत्तम सिमेन्टको सेयर कारोबारदेखि सेयर खरिदसम्म ढुंगानाकी छोरी रेविका आफैँ उपस्थिति भएको देखिए पनि लामो समयदेखि छोरी विदेशमा रहेको ढुंगाना आफैँले विभिन्‍न मिडियामा दिएको अन्तवार्तामा स्पष्ट पारेका छन्। त्यसैले यो अवधिमा सेयर खरिदमा ढुंगाना आफैँ संलग्‍न भएको पर्याप्त आधार देखिएको पनि प्रतिवेदनमा उल्लेख छ।

समितिमा उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रे अध्यक्ष छन् भने प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन्।

गत असार १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोत्तम सिमेन्टको सेयरको इन्साइडर ट्रेडिङ प्रकरणमा छानबिन गर्न अर्थ मन्त्रालयमा पत्राचार गरेको थियो। अख्तियारमा बोर्डका अध्यक्ष नै इन्साइडर ट्रेडिङमा संलग्‍न रहेको र उनले भ्रष्टाचार गरेको आरोपसहित अख्तियारमा उजुरी परेको थियो।

सोही उजुरीलाई आधार मान्दै अख्तियारले असार १७ मा अर्थ मन्त्रालयलाई छानबिन गरी प्रतिवेदन पेश गर्न भनेको थियो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले असार २८ मा कानुन सहसचिव पाराशर ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। ढुंगानाले इन्साइडर ट्रेडिङ भएको हुनसक्ने भन्दै समिति बनाएर थप छानबिन गर्न र बोर्डका अध्यक्षलाई निलम्बन गर्न सिफारिस गरेको थियो।

अर्थ मन्त्रालयले ढुंगानालाई निलम्बन गरी छानबिन गरेको थियो। साउँदले भने छानबिन समितिले काम थाल्नुअघि नै पदबाट राजीनामा दिइ सर्वोत्तम सिमेन्टको कारोबारमा संलग्‍न रहेको स्वीकारेका थिए।


प्रकाशित: Sep 21, 2021| 19:52 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्