बुधबार, साउन २०, २०८३

प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो

यो कोरोनाको औषधि होइन तर मिलाएर खाएमा रोग प्रतिरोधात्मक क्षमता बढाउने विज्ञ बताउँछन्।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

अचेल बजारमा गुर्जोको माग बढेको छ। खेतबारी र जंगलमा पाइने यो वनस्पतिबारे यसअघि कमैलाई मात्र थाहा थियो। कोराना महामारी बढ्दै गएपछि गुर्जोको माग बढेको विज्ञ बताउँछन्। यो कोरोनाको औषधि होइन तर मिलाएर खाएमा रोग प्रतिरोधात्मक क्षमता बढाउने विज्ञ बताउँछन्।

गुर्जोले रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदका विज्ञ सुमित वैद्य बताउँछन्। उनी भन्छन् –‘यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसले साइड इफेक्ट गर्दैन। यसको प्रयोगले ज्वरो, रुघा, खोकी निको हुन्छ।’

गुर्जो जुनसुकै उमेर समूहले पनि खान मिल्छ। खाने तरिका भने उमेर र तौलअनुसार फरकफरक हुन्छ। ‘आयुर्वेद चिकित्सकको सल्लाहअनुसार खानुपर्छ। आफ्नै तरिकाले मात्रा निर्धारण गरेर खानु घातक हुन सक्छ’, वैद्य भन्छन्।

कोरोना संक्रमण बढ्दै गएपछि गुर्जोको माग धेरै भएको उनी बताउँछन्। मागअनुसार सेवाग्राहीसमक्ष पुर्याउन नसकिएको उनको भनाइ छ।

के हो गुर्जो ?

गुर्जाे समुद्री सतहको ३०० मिटर देखि १८०० मिटरको उचाइमा विभिन्न भौगोलिक क्षेत्रमा पाइन्छ। यो लहरा प्रजातिको वनस्पति हो। तराई तथा चुरे क्षेत्रमा पाइने गुर्जाेको पात पानको जस्तै हुन्छ। यसको डाँठ फुस्रो हुन्छ ।

महाभारत पर्वत शंखलामा पाइने गुर्जाेको कालो डाँठ हुन्छ। उच्च हिमाली भूभागको सेपिलो भागमा पाइने गाने गुर्जाे औषधीय उपयोगका हिसाबले उत्तम मानिन्छ।
संस्कृतमा गुडुची वा अमृता भनिने गुर्जोको बोटानिकल नाम टिनोपोरा कोर्डिफोलिया हो।

वैद्यका अनुसार गुर्जाेको पातमा क्याल्सियम प्रोटिन फस्फोरस प्रचुर मात्रामा पाइन्छ। यो कमलिपत्तको प्रभावकारी औषधि हो।

गुर्जाेको डाँठमा स्टार्च सँगसँगै यसमा एन्टिबायोटिक र एन्टिब्याक्टेरियल गुण प्रशस्त पाइन्छ। रगतको शुद्धता र वृद्धि, हृदयाघातको जोखिम न्यूनीकरण, मधुमेह नियन्त्रण र छालामा चमक, मुहारमा कान्ति वृद्धिकाका लागि उत्तम मानिन्छ।

सुकाएर धुलो बनाई खाली पेटमा एक चम्चा एक गिलास पानीसँग खान सकिन्छ। डाँठ सफा गरेर हल्का कुटेर पानीमा रातभरि भिजाई भोलिपल्ट खाली पेटमा नयिमत ३ महिनासम्म सेवन गर्नाले पेटमा रोग नलाग्ने वैद्य बताउँछन्।

प्रकाशित: Aug 30, 2020| 14:22 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्