काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीको बोलीको आधारमा सेयर बजार घटबढ हुन नहुने बताएका छन्।
मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन बुझ्दै उनले बजार मन्त्रीको बोलीको आधारमा घट्ने र बढ्ने नभएर कम्पनीहरुको वित्तीय विवरणका आधारमा घटबढ हुनुपर्ने बताए।
सेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले सेयर बजार घटबढ हुने कुरा नभएको उनले तर्क गरे। त्यस्तै उनले समितिले बुझाएको प्रतिवेदनको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए। अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरुको हित रक्षामा सहयोगी हुने धारणा उनले राखे।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलबार सकारलाई प्रतिवेदन बुझाएको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाएका छन्।
अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकास विपरीत हुनेगरी पदीय आचरण विपरीत काम गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रीपरिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो।