काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजीगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन्।
मंगलबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा मन्त्री शर्माले नेपालमा समग्र विकास रणनीतिमा समस्या रहेको बताएका हुन्।
उनले विकासको कामका स्पष्ट रणनीति नभएका कारण पुँजीगत बजेटको खर्च कसरी गर्ने भन्ने चुनौती रहेको बताए। अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले सबै अधिकार आफैंसँग राख्नाले पनि समस्या भएको भन्दै अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरुलाई र मन्त्रालयहरुले सम्बन्धित परियोजनालाई आवश्यकता अनुसार बजेट हेरफेर गर्न दिनुपर्ने बताए। आगामी दिनमा अर्थ मन्त्रालयले सो अधिकार अन्य मन्त्रालयलाई दिने पनि उनले उल्लेख गरे।
अर्थमन्त्री शर्माले सरकारले प्रत्येक महिना कम्तिमा दश प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाउन लागेको बताए। खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको प्रवृत्ति सच्याउनका लागि आफूले प्रयास गरिरहेको उनको भनाइ छ। उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर वैदेशिक लगानी खुला गर्नुपर्ने बताए। राष्ट्र र जनताको अहितसँग सम्बन्धित शर्त छन् भने त्यस्तो लगानीको सन्दर्भमा समेत विचार गर्नुपर्ने उनको भनाइ थियो।
अर्थमन्त्री शर्माले विश्वविद्यालय अनुसन्धान केन्द्रीत हुनुपर्नेमा जोड दिए। मन्त्रालयले अनुसन्धानका विभिन्न शाखा बनाउनुपर्ने कुराको अन्त्य गर्दै विश्वविद्यालयलाई अनुसन्धानमा क्रियाशील गराउनुपर्ने उनको भनाइ थियो।