काठमाडौं– इंग्ल्यान्डको साउथह्याम्टनमा अहिले तीन शृंखलाको पाकिस्तान–इंग्ल्यान्ड टेस्ट सिरिजको अन्तिम खेल भइरहेको छ।
मौसमका कारण प्रभावित बनिरहेको टेस्ट क्रिकेटमा इंग्ल्यान्ड सिरिज कब्जा गर्ने दाउमा छ भने पाकिस्तान पनि बराबरी बनाउने ध्याउन्नमा लागेको छ।
यसैबीच फास्ट बलर जेम्स एन्डरसन भने आफ्नो करियरको ६०० विकेट पूरा गर्ने अवसरको खोजी गरिरहेका छन्। ५९९ विकेट लिइसकेका एन्डरसनले एक विकेट गिराउँदै नयाँ इंग्ल्यान्डमा नयाँ रेकर्ड बनाउन लागेका हुन्।
जारी टेस्टको पहिलो इनिङमा २३ ओभर बलिङ गर्दै एन्डरसनले ५ विकेट लिइसकेका छन् भने दोस्रो इनिङमा १२ ओभर खेल्दै एक विकेट लिए।
त्यस्तै तीन शृंखलाको पहिलो र दोस्रो खेलमा उनले क्रमशः १ र ३ विकेट लिएका थिए। अब उनले एकमात्र विकेट लिन सके ६०० विकेट पुर्याउने पहिलो फास्ट बलर हुनेछन् भने समग्रमा चौथो बलर हुनेछन्।
एन्डरसन भन्दा धेरै तीन खेलाडीले ६ सय विकेट पूरा गरेका छन्। सबैभन्दा धेरै श्रीलंकाका मुथैया मुरलीधरनले ८०० विकेट बनाएका छन्। त्यस्तै अष्ट्रेलियाका शेन वार्नले ७०८ विकेट लिएका छन् भने भारतका अनिल कुम्बलेले ६१९ विकेट लिएका छन्।
उनीहरुले क्रमशः १३३, १४५ र १३२ खेलमा सो विकेट लिएका हुन्। अन्य ६ सय विकेट पुर्याउने अन्य सबै खेलाडी स्पिनर थिए भने एन्डरसन फास्ट बलर हुन्। अहिलेसम्म इंग्ल्यान्डका कुनै खेलाडीले ६०० विकेट लिएका छैनन्।
पाँच दिनको टेस्ट क्रिकेटको अन्तिम दिन फलो अन पाएको पाकिस्तानले ब्याटिङ गरिरहेको छ। चौथो दिनको खेलमा १०० रन बनाएको पकिस्तानले दुई विकेट गुमाइसकेको छ। इंग्ल्यान्डले पहिलो इनिङमा ५८३ रनबनाएको थियो।
यता, पहिलो इनिङमा ब्याटिङमा आएको पाकिस्तानले २७३ रनमात्र बनाएपछि उसलाई इंग्ल्यान्डले फलो अन दिएको छ।