काठमाडौं– आज (शुक्रबार) रातिको खेलबाट यूईएफए युरोपा लिगले २०१९–२० सिजनको च्याम्पियन पाउने छ। नेपाली समय अनुसार राति पौने १ बजे हुने खेलमा स्पेनिस क्लब सेभियाले इटालियन क्लब इन्टर मिलानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।
जर्मनीको कोल्नमा हुने फाइनल खेलमा इन्टर र सेभिया पहिलो पटक भिड्न लागेका हुन्। दुवै क्लब आजको खेलमा जित निकाल्दै नयाँ कीर्तिमान कायम गर्न चाहन्छन्। युरोपा लिगमा सर्वाधिक सफल सेभिया छैटौं उपाधिका लागि संघर्षरत रहँदा इन्टर मिलान चौथो उपाधिको दौडमा हुनेछ।
सेभियाले पछिल्लो पटक सन् २०१६ मा उपाधि जितेको थियो भने इन्टरले १९९८ मा उपाधि जितेको थियो। त्यसपछि ऊ युरोपा लिगको फाइनलसम्म पुगेको छैन।
पार्मा १९९९ मा फाइनल पुगेयता कुनै इटालियन टिम युरोपा लिगको फाइनल पुगेका थिएनन्। इन्टरपछिल्लो सिजनको घरेलु लिगमा पनि सफल देखिएको छ। उसले लिग च्याम्पिनय युभेन्टसभन्दा एक अंक मात्र पछि पर्दै लिगको अन्त्य गरेको थियो। सेभिया भने लिगको अंकतालिकामा छैटौं स्थानमा थियो।
के भन्छन् प्रशिक्षक ?
सेभियाका प्रशिक्षक जुलेन लोप्टेगुइ
यो पूरै नयाँ खेलाडीका साथ नयाँ प्रशिक्षकसँगको टिम पनि नयाँ हो। जसले क्लबलाई यो स्थानमा पुर्याएको हो। मलाई लाग्दैन कि यो अरु कुराका कारण सम्भव भएको हो। यहाँ दुई छुट्टै प्रकृतिका टिमहरु प्रतिस्पर्धा गर्दै छन्। जहाँ हामी राम्रो प्रदर्शन गर्न कोसिस गर्नेछौं।
इन्टर च्याम्पियन्स लिग खेल्ने टिम हो। इन्टरमा खेलाडीहरु पनि राम्रा छन् जुन युरोपा लिगको लागि असामान्य जस्तै हो। इन्टरसँग धेरै अनुभवी प्रशिक्षक पनि छन्। हामीले पनि त्यही अनुरुप प्रयास खेल्नेछौं।
इन्टरका प्रशिक्षक एन्टोनी कोन्टे
यो हाम्रो लागि सकारात्मक सिजन हो। हामीले धेरै महत्वपूर्ण काम गरेका छौं र सुधारहरु पनि गरेका छौं। च्याम्पियन्स लिगको ग्रुप स्टेजमा पुग्न नसकेको खेदसहित हामीले युरोपा लिगको फाइनल पुग्नका लागि मेहनत र व्यवस्थापन गरेका छौं। यो च्याम्पियन्स लिगको तुलनामा युरोपा लिगमा हामी सफल टिम हौँ। मलाई लाग्छ टिममा युवा खेलाडी धेरै छन् जसले खेल जिताउने छन्।
तर, हाम्रो लागि यो चुनौति हुनेछ कि हामी लिगको सबैभन्दा सफल टिमविरुद्ध खेल्दैछौं। यसो भन्दैमा हामी कम उत्साही भएर मैदान प्रवेश गर्ने छैनौँ।
– युरोपियन प्रतियोगिताको फाइनलमा इन्टर मिलान र सेभियाको पहिलो खेल हो।
– इन्टर १० औं पटक युरोपियन लिगको फाइनलमा पुगेका हुन्। यो माइलस्टोन पूरा गर्ने नवौँ क्लबसमेत हो। ऊ २०१० मा च्यम्पियन्स लिगको फाइनलमा पुगेपछि पहिलो पटक युरोयिन लिगको फाइनल पुगेको हो।
– सेभियाले पाँच पटक युरोपा लिग जितेको छ। जुन स्पेनिस च्यम्पियन रियल मड्रिडले र इंग्लिस च्याम्पियन क्लब लिभरपुलले भन्दा धेरै हो।
– इन्टरले ६ युरोपियन लिग जितिसकेको छ। पाँच पटक च्याम्पियन्स लिग फाइनल पुगेको टिम इन्टरले तीन च्याम्पियन्स लिग र तीन युरोपा लिग जितेको हो।
– इन्टरले पछिल्ला पाँच खेलमा लगातार जित निकाल्दै आएको छ, ऊ आज छैटौँ जित निकाल्ने लक्ष्यमा हुनेछ।
– सेभियाले आजसम्म युरोपा लिग फाइनलमा हार बेहोरेको छैन। साथै युरोपा लिगको सिंगल लेग खेलमा पनि हारेको छैन। पाँच पटक फाइनल पुगेको टिमले पाँचै पटक प्रतियोगिता जितेको छ। (उसले पछिल्ला ८ नकआउटमा ६ जित र २ बराबरी गरेको छ।)
– प्रशिक्षक एन्टोनी कोन्टे र जुलेन लोप्टेगुइले पहिलो पटक शीर्ष डिभिजन क्लबमा प्रहिक्षण गराइरहेका छन्। ७० प्रतिशत जित निकाल्ने ६ जना प्रशिक्षकमा यी दुई प्रहिक्षक पनि पर्छन्।
सेभिया र इन्टर मिलानको युरोपा लिग फाइनलको नतिजाः
सेभिया
२००६ः मिडलस्ब्रगविरुद्ध ४–० गोलअन्तरको जित
२००७ः इस्पानेयलविरुद्ध २–२ बराबरी भएपछि पेनाल्टीबाट जित
२०१४ः बेनिफिकाविरुद्ध गोलरहित बराबरी भएपछि पेनाल्टीमा जित
२०१५ः डिनप्रोविरुद्ध ३–२ गोलअन्तरको जित
२०१६ः लिभरपुलविरुद्ध ३–१ गोलअन्तरको जित
इन्टर मिलान
१९९१ः रोमाविरुद्ध २–१ गोलअन्तरको जित
१९९४ः साल्जबर्गविरुद्ध २–० गोलअन्तरको जित
१९९७ः साल्केविरुद्ध १–१ गोलको बराबरी भएपछि पेनाल्टीबाट हार
१९९८ः लाजियोविरुद्ध ३–० गोलअन्तरको जित