बुधबार, चैत ११, २०८२

'एसईई नतिजालाई मजाक बनाउनु दु:खद'

“नौ वर्ष विद्यालयले मूल्याङ्कन गर्दा कसैलाई केही नहुने तर अन्तिम वर्ष वा दशौं वर्षको मूल्याङ्कनलाई चाहीँ मजाक बनाउनु दुःखद् छ”
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित  भएपछि  विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन्।

National life

कोरोना भाइरसका कारण यस वर्ष एसईईको परीक्षा नभएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो।

सामाजिक सञ्जाल र चिया गफमा समेत एसइईको मापदण्ड खस्किएको, विद्यालयले सित्तैमा प्रमाणपत्र दिएकोलगायतका टिप्पणीले बालबालिकाको मनोविज्ञानमा असर परेको सरोकारवालाले बताएका छन् ।

परीक्षाफल प्रकाशित भएपछि विद्यार्थीको मनोविज्ञानमा नै प्रभाव पर्ने किसिमको प्रतिक्रिया आइरहेको आदर्श माध्यमिक विद्यालय इलामका शिक्षक शिरोमणि भट्टराई बताउँछन्।

“नौ वर्ष विद्यालयले मूल्याङ्कन गर्दा कसैलाई केही नहुने तर अन्तिम वर्ष वा दशौं वर्षको मूल्याङ्कनलाई चाहीँ मजाक बनाउनु दुःखद् छ”  भट्टराई भन्छन्,  “हामीले राम्ररी मूल्यांकन गरेर परीक्षाफल पठाएका हौँ। यति हुँदाहुँदै पनि मजाक बनाउन मिल्छ?”

Laxmi sunrise bank
kumari

उत्कृष्ट र मेधावी विद्यार्थीका लागि भने आन्तरिक मूल्याङ्कनका लागि चित्तबुझ्दो मापदण्ड नभए पनि सामाजिक सञ्जालमा प्रतिक्रिया आएजस्तो नभएको भट्टराई बताउँछन्। उनका अनुसार विद्यार्थीको अध्ययन र क्षमताकै आधारमा परीक्षाफल विद्यालयले पठाएको हो ।

समय परिस्थितिअनुसार मूल्याङ्कन गर्ने पद्दतिको ढाँचामा परिवर्तन भएको बताउँछन् महेन्द्र रत्न बहुमुखी क्याम्पसमा शिक्षा अर्थशास्त्र सङ्कायका उपप्राध्यापक पूर्णप्रसाद ढुङ्गाना।

“एउटा विद्यालयले आफ्ना विद्यार्थी दशौं वर्षदेखि मूल्याङ्कन गरेको छ । एकैदिनमा १२ घण्टासम्म शिक्षक–विद्यार्थी सँगै रहेर अध्ययन गरेका छन्,” ढुङ्गाना भन्छन्, “तल्लो कक्षामा यही मूल्याङ्कन वैज्ञानिक ठहरिने र माथिल्लो कक्षा १० मा भने अवैज्ञानिक ठहरिने हुँदैन ।”

ढुङ्गाना एउटै परीक्षाले विद्यार्थीको भविष्य किटान गर्न नसकिने भएकाले अनावश्यक प्रतिक्रियाले विद्यार्थीको मस्तिष्कमा समस्या उत्पन्न हुनसक्ने बताउँछन्।

नेपाल शिक्षक सङ्घका प्रदेश १ का अध्यक्ष पूर्ण गौतम भन्छन्, “शिक्षकले विद्यार्थीका सबै पक्ष बुझेरै मापदण्ड बनाएका हुन्छन्। त्यसैले यसलाई हचुवाको भरमा नकारात्मक टिप्पणी गर्न मिल्दैन। यस्ता टिप्पणीले बालमनोविज्ञानमा नकारात्मक प्रभाव पर्छ।”

बाहिरी टिकाटिप्पणीले बालमनोविज्ञानमा असर गर्ने भन्दै यसबाट सचेत भएर अघि बढ्न शिक्षा कार्यालयले भनेको छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शम्भु थापामगरले अघिल्लो वर्षको परीक्षाफल, आन्तरिक परीक्षा, आवधि परीक्षाका आधारमा एसइईको मूल्याङ्कन गरिएको बताए।

परिस्थितिजन्य परीक्षाका रूपमा एसईईको परीक्षा भएकाले यसबाट सबै परीक्षाको मूल्याङ्कन हुन नसक्ने उनको भनाइ छ । “केही विद्यालयले परीक्षाको मूल्याङ्कनमा तलमाथि गरेका होलान्”, मगरले भने, “यसो भन्दैमा सबै विद्यालय, विद्यार्थी र शिक्षक शिक्षिकालाई यसरी मुछ्नु हुँदैन ।”

 

प्रकाशित: Aug 21, 2020| 14:25 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्