वासिंटन- यूएस ओपन टेनिसमा सहभागी बनेका गुइडो पेल्ला र हुगा डेलिइनले खेल्न पाउने हुन् वा होइनन् भन्ने शंका बढेर गएको छ। फिजियो जुवान गाल्वेनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरु सहभागी हुनेमा शंका उत्पन्न भएको हो।
प्रतियोगिता सुरु हुनुअघि १ हजार ४०० जनालाई गराइएको परीक्षणमा गाल्वेनलाई कोरोना पोजेटिभ देखिएको हो। उनलाई पोजेटिभ देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा दुई खेलाडीसमेत परेका हुन्।
३५ औं बरियताका अर्जेन्टिनी पेल्ला र ९४ औँ बरियताका बोलिभियन डेलिइनलाई फिजियोका रुपमा गाल्वेनले केही समयता सहयोग गरिरहेका थिए।
अहिले उनीहरु तीनै जनालाई प्रतियोगिता हुने ओहियो (सिन्सिनेटी मास्टर्स) बाट केही टाढा छ्ट्टाछुट्टै ठाउँमा क्वारेन्टिनमा रखिएको छ। गाल्वेनले अब १० दिन क्वारेन्टिन बस्नुपर्ने छ भने दुवै खेलाडीलाई दुई हप्ताको क्वारेन्टिन बस्न भनिएको छ।
त्यसपछि उनीहरुको फेरि दुई पटक परीक्षण हुनेछ।
कोरोना महामारीबीच सिन्सिनेटी मास्टर्समा ११ दिनपछि ओपन टेनिस प्रतियोगिता सुरु हुनेछ। अगस्ट ३१ बाट सुरु हुने प्रतियोगिता सेप्टेम्बर १३ सम्म चल्नेछ। महामारीबीच हुने प्रतियोगितामा दर्शकको संख्या शून्य हुनेछ।
पेल्लाले सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै यूएस ओपनमा सहभागी हुन अझै पनि सकिने र महामारीकै दौरानमा हुने प्रतियोगिता खेल्न इच्छुक रहेको बताएका छन्।
उनीहरु दुवै जनालाई कुनै लक्षण देखिएको छैन्। बीबीसी