काठमाडौं– च्याम्पियन्स लिगको सेमीफाइनल खेल आज (मंगलबार)बाट सुरु हुँदैछ। आज राति पौने १ बजे हुने पहिलो खेलमा फ्रेन्च लिग विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी)ले जर्मन क्लब लाइप्जिकको सामना गर्दैछ।
आजको खेल दुवै क्लबलाई महत्वपूर्ण छ। महत्वपूर्ण यसर्थमा कि स्थापनाको ११ वर्षमात्र भएको लाइप्जिक पहिलोपटक सेमीफाइनल पुगेको हो भने उसले जितेमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुग्नेछ। लाइप्जिकले जर्मन शीर्ष लिग बुन्डेसलिगा खेल्न थालेको आधा दशक पनि भएको छैन।
यता १९७० मा स्थापना भएको पीएसजीसँग च्याम्पियन्स लिगको फाइनल खेलेको इतिहास नै छैन। आज उसले जितेमा क्लबका लागि नयाँ कीर्तिमान हुनेछ। जारी सिजनमा पीएसजी दोस्रो पटक सेमीफाइनल पुगेको हो।
पछिल्ला ८ वर्षमा फ्रेन्च फुबलमा राज गरेको पीएसजी पछिल्लो पटक सन् १९९५ मा सेमीफाइनल पुगेको थियो।
पीएसजीले अन्तिम १६ को खेलमा बुन्डेसलिगा टिम डर्टमुन्डलाई हराएर क्वार्टरफाइनल पुगेको थियो, जहाँ उसले एटलान्टालाई हराउँदै सेमीफानलको यात्रा तय गर्यो। यता अन्तिम १६ मा साविक उपविजेता टोटेनहमलाई हराउँदै क्वार्टरफाइनल पुगेको लाइप्जिकका अन्तिम ८ बाट एट्लेटिको मड्रिडलाई घर पठाउँदै सेमीफाइनलमा स्थान बनाएको थियो।
च्याम्पियन्स लिगका बलिया टिमलाई हराउँदै उच्च मनोबलका साथ सेमीफाइनल पुगेको लाइप्जिक आजको खेलमा जित निकाल्दै फाइनल पुग्न चाहन्छ। तर, उसलाई दबाउन तयार प्रतिस्पर्धी पीएसजी पनि ठूलो लगानीको प्रतिफल क्लबलाई फिर्ता गर्न चाहन्छ।
जारी सिजनमा जर्मनका दुई टिम च्याम्पियन्स लिग सेमीफाइनलमा पुगेका छन् भने अन्य दुई फ्रेन्च टिम पुगेका छन्। च्याम्पियन्स लिगको इतिहासको यो समीकरण यस्तो हो, जहाँ इंग्ल्यान्ड र स्पेनिस क्लब पुगेका छैनन्। विगत हेर्ने हो भने सेमीफाइनल र फाइनल खेलमा स्पेनिस र इंग्लिस क्लबकै अधिपत्य हुने गर्थ्यो।
र, आजको खेल आफैंमा एक ऐतिहासिक हुनेछ। किनकि दुवै क्लबले एक आपसमा यसअघि कहिल्यै खेलेका थिएनन्। आज नै पहिलोपटक भेट हुनेछ।
लाइप्जिकका प्रशिक्षक युलियन नगेल्सम्यानले आफ्ना खेलाडी जितका भोका रहेको बताएका छन्। ‘खेलाडीमा जित्ने चाहना हुनैपर्छ र मैले उनीहरुको अनुहारमा देखेको छु। हामी जितका लागि भोका छौँ,’ उनले भनेका छन्।
यता पीएसजीका प्रशिक्षक थोमस टुचेलले आजको खेलमा आफ्नो पूरै बल लगाएर खेल्ने बताएका छन्। उनले भने, ‘बितेको दिनबारे कुरा गर्न चाहदैनौँ। साथै हामी सफलताको भोका छौँ र सफल हुन चाहन्छौँ। हामी कडा मिहिनेत गर्न चाहन्छौँ। लाइप्जिकले धेरै दबाब दिनेछ। उनीहरु युवा र छिटो टिम छन्। तर हाम्रो खेल्ने स्टाइल बेग्लै छ–हुनेछ।’
खेल पोर्चुगलको राजधानी लिस्बनस्थित स्टाडियो डा लुज रंगशालामा हुनेछ।