शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युत् खपत बढाउन प्रसारण, वितरण लाइन र सबस्टेसन आयोजना निर्माणमा तीव्रता

विद्युत् खपत बढाउन प्रसारण, वितरण लाइन र सबस्टेसन आयोजना निर्माणमा तीव्रता

नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको कामलाई तीव्रता दिएको छ। प्राधिकरणले विद्युत् खपत बढाउन योजनाबद्ध रुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखेको हो।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको कामलाई तीव्रता दिएको छ। प्राधिकरणले विद्युत् खपत बढाउन योजनाबद्ध रुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखेको हो। 

प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगीलाई मागेअनुसार विद्युत् उपलब्ध गराउन नसक्ने र उत्पादित विद्युत् खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नुपर्ने अवस्था आएपछि प्राधिकरणले खपत बढाउने योजना अघि सारेको हो। 

अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र  निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिटो सम्पन्न गर्नु रहेको छ। दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँको पहिचान गरी प्रसारण तथा वितरणतर्फका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिनेछ। 

उद्योगीले मागेजति विद्युत् नपाएको गुनासो गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार र आइतबार हेटौंडा, सिमरा, वीरगन्ज, भरतपुर, परासी, भैरहवा औद्योगिक करिडोर क्षेत्रको स्थलगत अवलोकन गरी सञ्चालनमा रहेका र निर्माणाधीन प्रसारण तथा वितरण लाइन, सबस्टेसनहरुको अवस्थाका बारेमा जानकारी लिएका छन्। 

‘एकतर्फ देशभित्र उत्पादित विद्युत खपत गर्न नसकी दैनिक रुपमा लाखौं रुपैयाँ खेर फालिरहेका छौं भने अर्कोतर्फ पूर्वाधार अभावमा उद्योगहरुलाई मागेजति विद्युत दिन सकिरहेका छैनौं, यस्तो पीडादायी अवस्थाको अन्त्य गर्न चाहन्छौं’, 

त्यस क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसन आयोजनाहरु निर्माणाधीन छन्। कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन तथा ठेकेदार, वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुखसँग आयोजनास्थलमै छलफल गरी निर्माणमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेका छन्। 

‘एकतर्फ देशभित्र उत्पादित विद्युत खपत गर्न नसकी दैनिक रुपमा लाखौं रुपैयाँ खेर फालिरहेका छौं भने अर्कोतर्फ पूर्वाधार अभावमा उद्योगहरुलाई मागेजति विद्युत दिन सकिरहेका छैनौं, यस्तो पीडादायी अवस्थाको अन्त्य गर्न चाहन्छौं’, घिसिङले भने। निर्माणाधीन आयोजना सम्पन्न भएपछि उद्योगहरुलाई मागेअनुसार विद्युत् दिन सकिने उनको भनाइ छ। यस्तै उनले यसबाट आमउपभोक्ताले गुणस्तरीय, विश्वसनीय विद्युत् पाउने बताए। 

उनले विद्युत खपत बढाउनुपर्ने चुनौतीपूर्ण अवस्थामा आयोजनाहरुको काम समयमै सम्पन्न गरी सहयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरे।सिमरा र वीरगन्ज क्षेत्रका उद्योगहरुको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनमा नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली लाइनको क्षमता बढाउने काम भइरहेको छ। यो काम सम्पन्न भएपछि त्यस क्षेत्रमा थप विद्युत् आपूर्ति हुनेछ। 

निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने र अमलेखगन्जमा रहेको सबस्टेसनबाट थप फिडर निकाली विद्युत् आपूर्तिको सम्भावनाका विषयमा पनि घिसिङले छलफल गरेका छन्। यसका लागि अध्ययन गरी प्रस्ताव पेस गर्न उनले निर्देशन दिए। 

नपलपरासीको परासी क्षेत्रमा सञ्चालित उद्योगहरुलाई विद्युत आपूर्तिका लागि सुनवलमा १३२/३३ केभी सबस्टेसन निर्माणाधीन छ। सबस्टेसनको निर्माण आगामी चैतभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ‘सबस्टेसन सञ्चालनमा आएपछि त्यहाँबाट थप ९० मेगावाट  विद्युत उद्योगहरुलाई दिन सकिन्छ भने आपूर्ति पनि विश्वसनीय हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने। 

रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा रहेका उद्योगहरुलाई विद्युत आपूर्तिका लागि बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२/३३/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। कोभिड–१९ का कारण चिनियाँ प्राविधिकहरु आउन नसक्दा सबस्टेसनको परीक्षण हुन सकेको छैन । सबस्टेसन सञ्चालनमा आएपछि थप ९० विद्युत् आपूर्ति दिन सकिनेछ। 

होङ्सी सिमेन्टलाई तीन महिनाभित्र विद्युत्

चिनियाँ लगानीमा खुलेको होङ्सी सिमेन्टलाई तीन महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने भएको छ। उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिन लागिएको छ। भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्सी सिमेन्टलाई विद्युत् आपूर्ति दिन लागिएको हो। 

कार्यकारी निर्देशक घिसिङले उद्योगका पदाधिकारीसँग छलफल गरी तीन महिनाभित्र विद्युत् आपूर्ति दिन सकिने भएकाले सोहीअनुसार आवश्यक तयारी गर्न आग्रह गरे। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणाअनुसार यो लाइन बनिरहेको हो। लाइन नपुग्दा होङसशी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ। उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङ्सीलाई मात्रै करिब ८० मेगावाट विद्युत् आवश्यक पर्ने बताइएको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन। 


प्रकाशित: Sep 20, 2021| 18:14 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्