कोरोना महामारीबीच आज (अगस्ट १८)बाट ट्रिनिडाड र टोबागोमा क्यारेबियन प्रिमियर (सीपीएल) लिग सुरु हुँदै छ। तर, यो प्रतियोगिता हल्लारहित हुने छ भने सनसनीपूर्ण प्रदर्शन गर्ने क्रिस गेल उपस्थित हुने छैनन्।
कोरोना महामारीबीच सुरु भएको यो पहिलो टी–२० लिग हो। जारी सिजनमा प्रतियोगिता क्यारेबियन क्षेत्रको एक मात्र देशका दुई रंगशालामा सम्पन्न गरिँदै छ।
कोरोना महामारीले विश्व हवाई उडानमा परेको प्रभावका कारण धेरै फ्रेन्चाइज खेलाडी प्रतियोगितामा उपस्थित हुन सकेका छैनन्, जसले गर्दा अधिकांश फ्रेन्चाइज क्लबमा खेलाडीको अभावजस्तै छ।
यस्तै विषयमा अध्ययन गरिरहेको ईएसपीएन क्रिकइन्फोले २३ दिनमा ३३ खेल हुने प्रतियोगितालाई बयान गर्ने केही महत्त्वपूर्ण विन्दु भेटेको बताएको छ।
पहिलो हो– सीपीएलले खेलाडी र प्रशिक्षकका लागि इन्डियन प्रिमियर लिग(आईपीएल)को प्रशिक्षणका रुपमा काम गर्ने छ। किनभने १९ सेम्टेम्बरबाट सुरु हुने आईपीएल सीपीएल सकिएको ९ दिनपछि सुरु हुने तय छ। अर्थात् सीपीएल फाइनल १० सेम्टेम्बरमा हुने छ भने आईपीएल १९ सेप्टेम्बरबाट सुरु हुने छ।
दोस्रो हो– सीपीएलमा इन्डियन वनरसिप। सीपीएलका दुई टिम ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जोउक्समा भारतीय वनरसिप छ, जसले सीपीएललाई आईपीएलको तालिकासँग मिलाउन कसरत गरेको थियो। यस्तो कसरतले टिमले दिन र रातमा प्रदर्शन गर्ने तालिकामा पनि प्रभाव जमाएको छ।
तेस्रो हो– प्लेअफ फम्र्याट। यो सिजनमा प्लेअफमा दुई सेमीफाइनल र एक फाइनल खेल हुनेछन्, जसले लिग स्टेजका बिजेतालाई घाटा पर्ने ईएसपीएन क्रिकइन्फोले बताएको छ। यो प्लेअफ फम्र्याटमा गत वर्षको भन्दा एक खेल कम हुने छ।
चौथो हो– स्पिन। प्रतियोगिताका १० खेल क्विन्स पार्कमा हुने छन् भने बाँकी २३ खेल ब्रायन लारा रंगशालामा हुने छन्। यसले गर्दा त्यहाँको मैदान छिट्टै बिग्रन सुरु हुने छ।
बिग्रिएको मैदानमा स्पिन बलरहरुले खेलमा घातक भूमिका निभाउन सक्ने छन्। त्यसमाथि दुवै रंगशालाको पिच स्पिन बल सुहाउँदो छ।
यसकारण बार्बाडोस ट्रिनिडाड र नाइट राइडर्सलाई फाइदा हुने देखिन्छ। र, रासिद खानको ट्रिनिडाड, इमरान ताहिरको अमाजोन वारियर्स, सन्दिप लामिछानेको तल्वाहाज र जाहिर खानको जौक्स प्रतियोगिता अवधिभर केन्द्रमा रहने छन्।
क्रिकइन्फोले टी–२० क्रिकेटको युनिभर्सल बोसका रुपमा चिनिने क्रिस गेलको अनुपस्थितिलाई पनि महत्त्वका साथ हेरेको छ। उनले पारिवारिक कारण देखाउँदै केही समयअघि मात्र प्रतियोगितामा सहभागी बन्न नसक्ने बताएका थिए।
गेलको उपस्थितिले प्रतियोगितामा फरक पार्नुको कारण हो– उनी टी–२० क्रिकेटमा विस्फोटक क्रिकेटर मानिन्छन्। साथै विश्वका टप स्कोर गर्ने ब्याट्समेनसमेत हुन्। उनले ३९.९ खेलको औसतसँगै १३३.४४ को स्ट्राइक रेटमा दुई हजार ३५४ रन बनाएका छन्।
महामारी र यसका कारण दर्शक उपस्थिति शून्य हुने भएकाले यसअघि नै प्रभावित बनेको सीपीएलमा उनको अनुपस्थितिले खेललाई थप प्रभाव पारेको छ। यी प्रभावले खेललाई फाइदा भने गर्दैन।
प्रतियोगिताको उद्घाटन खेलमा आज(मंगलबार) ट्रिनबागो नाइट राइडर्सले गुएना अमेजन वारियर्सविरुद्ध खेल्ने छ। खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे सुरु हुने छ । यस्तै, अर्को खेल साविक विजेता बार्बेडोस ट्राइडेन्ट्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सबीच बुधबार बिहान नेपाली समय अनुसार सवा ३ बजे सुरु हुनेछ।
प्रतियोगितामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लगातार तेस्रो पटक सहभागिता जनाएका छन्। उनको टिमको पहिलो प्रतियोगिता बुधबार बेलुका पौने ८ बजे सुरु हुनेछ।