काठमाडौं– सोमबार मुलुकभर १७३ महिला र ४०८ पुरुष गरी ५८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
सबैभन्दा बढी काठमाडौं उपत्यकामा १६८ जना थपिएका छन्।
तीमध्ये काठमाडौंका १३९, भक्तपुरका १४ जना र ललितपुरका १५ जना छन्। विगत केही दिनदेखि काठमाडौंमा संक्रमणको दर उच्च छ। आइतबार काठमाडौं उपत्यकामा १७२ जना र शनिबार ९८ जनामा संक्रमण भएको थियो।
पछिल्लो २४ घण्टामा झापामा आठ, मोरङमा ४० र सुनसरीमा ३१ जना थपिएका छन्। यस्तै सप्तरीमा थप एक जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
धनुषामा तीन, महोत्तरीमा दुई र सर्लाहीमा १७ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा बारामा ५९ जना र पर्सामा ७७ जना नयाँ संक्रमित थपिएका छन्। रौतहटमा ११ जनामा संक्रमण भएको छ।
धादिङमा चार, काभ्रेमा चार, नुवाकोटमा एक र सिन्धुपाल्चोकमा पाँच जना संक्रमित थपिएका छन्।
चितवनमा थप एक जना र मकवानपुरमा चार जनामा संक्रमण भएको छ।
थप संक्रमित हुनेमा कास्कीका १४ जना छन्। पूर्वी नवलपरासीका दुई, स्याङ्जाका चार, तनहुँका दुई र कपिलवस्तुमा थप एक जनामा संक्रमण भएको छ।
पश्चिम नवलपरासीमा एक, रुपन्देहीमा ३२, अर्घाखाँचीमा एक र दाङमा दुई जना संक्रमित थपिएको प्रवक्ता गौतमले बताए।
प्यूठानमा थप २८ जनामा कोरोना भाइरस संक्रमण भएको छ। बाँकेमा २४, सल्यानमा एक र जुम्लामा तीन जना थपिएका छन्।
मन्त्रालयका अनुसार सुर्खेतमा एक, दैलेखमा एक, कैलालीमा १६, कञ्चनपुरमा १२ र डडेल्धुरामा थप एक जनामा कोरोना भाइरस संक्रमण भएको छ।