निर्देशक महेश भट्टको आगामी फिल्म सडक- २ को ट्रेलरले नयाँ रेकर्ड बनाएको छ। सार्वजनिक भएको तीन दिनमै यो फिल्मको ट्रेलरले युट्युबमा एक करोड डिस्लाईक पाएको छ।
डिजिटल संसारमा यस्तो रेकर्ड यसअघि कुनै भारतीय भिडियोको थिएन। संसारभरमा सबैभन्दा धेरै डिस्लाईक गरिने भिडियोको सूचीमा सडक- २ को ट्रेलर तेस्रो नम्बरमा पुगेको छ।
दोस्रो नम्बरमा जस्टिन बीबरको गीत ‘बेबी’ छ। ‘बेबी’ को खातामा एक करोड १५ लाख डिस्लाईक छ। सडक- २ को डिस्लाईकको रफ्तार हेर्दा अबको केही दिनमै उसले ‘बेबी’ लाई पछि पार्ने छ।
सबैभन्दा धेरै डिस्लाइक पाउने भिडियो चाहिँ युट्युब रिवाइन्ड- २०१८ हो। यसले एक करोड ८२ लाख डिस्लाईक पाएको छ।
युट्युब रिवाइन्ड सीरिज अन्तर्गत प्रत्येक वर्ष वर्षभरको युट्युब ट्रेन्ड्सबारे चर्चा गरिएको हुन्छ। सन् २०१८ मा मानिसहरुले यसले यति धेरै खराब ठाने कि यो ‘मोस्ट डिस्लाइक्ड युट्युब भिडियो’ बन्न पुग्यो।
सडक- २ ले यति धेरै डिसलाइक पाउनुको कारण बलिउडमा नेपोटिज्म (नातावाद–कृपावाद) बारे जारी बहसलाई मानिएको छ।
अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि यो बहस तीव्र भएको छ। विशेषगरी करण जौहर, महेश भट्ट र आलिया भट्टमाथि सबैभन्दा धेरै टिप्पणी भइरहेको छ।
मानिसहरुलाई सबैभन्दा धेरै आपत्ति ‘कफी विद करण’ शोको एउटा क्लिपमाथि छ। उक्त क्लिपमा आलिय भट्टले करणसँग ‘म्यारी, हुक अप र किल’ नामको खेल खेलेकी छन्।
केटाकेटीको यो खेल धेरैजसो स्कुल र कलेजमा खेलिन्छ। तीन नाममध्ये एउटालाई म्यारी अर्थात् विवाहका लागि चुनिन्छ। एउटालाई हुक अप अर्थात् सानोतिनो अफेयरका लागि र अर्कोलाई किल अर्थात् मार्न वा खेलबाट हटाउनका लागि।
सुशान्तको मृत्युपछि भाइरल भएको क्लिप हेरेपछि धेरैले आलिया सुशान्तलाई मार्न चाहन्थिन् भन्ने अर्थ लगाएका छन्। यसैकारण उनको फिल्मले यति धेरै डिस्लाईक पाएको हो।
फिल्ममा सञ्जय दत्त पनि छन्। दत्तलाई क्यान्सर भएको खबरपछि मानिसहरु उनीप्रति समवेदना प्रकट गरिरहेका छन्। त्यसैले युट्युब कमेन्ट पनि आलिया भट्टप्रति आक्रोश र सञ्जय दत्तप्रति प्रार्थनाले भरिएको देखिन्छ।