रुसले कोरोना भाइरसका लागि भ्याक्सिनको पहिलो खेप तयार गरेको इन्टरफेक्स न्युज एजेन्सीले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ।
यो भ्याक्सिन यही महिना (अगस्ट) को अन्त्यसम्ममा बजारमा आउने बताइएको छ। आम मानिसका लागि उपलब्ध हुने यो नै पहिलो कोरोना भ्याक्सिन हुनेछ।
तेस्रो चरणको परीक्षण गर्नुअघि नै यो भ्याक्सिनलाई उत्पादनको अनुमति दिइएको छ। जबकी तेस्रो चरणको परीक्षणमा हजारौं मानिसलाई सहभागी गराइन्छ र यो चरणको परीक्षणलाई निकै महत्वपूर्ण रुपमा लिइन्छ।
आफूले तयार गरेको भ्याक्सिनलाई रुसले स्पुतनिक–५ नाम दिएको छ। स्पुतनिक अन्तरिक्षमा पठाइएको विश्वको पहिलो उपग्रह हो, जुन रुसले नै तयार गरेको थियो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले बनाएको भ्याक्सिन पूर्णतः सुरक्षित रहेको दाबी गरेका छन्। पहिलो भ्याक्सिन पुटिनकै छोरीलाई लगाइएको बताइएको छ।
आगामी डिसेम्बरदेखि रुसले प्रतिमहिना ५० लाख डोज कोरोना भ्याक्सिन उत्पादन गर्ने इन्टरफेक्सले बताएको छ।
कोरोनाबाट अत्यधिक प्रभावित अमेरिका र ब्राजिलले रुसले तयार गरेको भ्याक्सिन प्रयोग नगर्ने बताएका छन्। अर्को पीडित मुलुक भारतले आधिकारिक रुपमा केही भनेको छैन।
उता, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भने रुसी भ्याक्सिन पूर्णतः विश्वसनीय रहेको दाबी गर्दै आफू नै उक्त भ्याक्सिन लगाउन तयार रहेको बताएका छन्।