काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२४ अंकमा आइपुगेको छ। संविधान दिवसको दिन आइतबार बन्द रहेको नेप्से सोमबार ४.०५ प्रतिशतले घटेको हो।
सोमबार ४ वटा कम्पनीको मात्र सेयर उकालो लागेको छ भने १८१ कम्पनीको सेयर ओरालो लागेको छ।
११४ अंक घटेको नेप्सेमा सोमबार ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। २२५ कम्पनीको १७ लाख ३३ हजार कित्ता सेयर १ लाख ७ हजार ५९६ पटक कारोबार भएको थियो। सोमबार सबैभन्दा बढी घट्नेमा फाइनान्स कम्पनी र विकास बैंकका उपसूचक छन्। फाइनान्स कम्पनीको उपसूचक ८.५६ प्रतिशतले र विकास बैंकको उपसूचक ६.३५ प्रतिशतले घटेका हुन्। सबै समूहका उपसूचक घटेका छन्।
सोमबार मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यो कम्पनी भर्खरै आइपीओ जारी गरी कारोबारमा आएको हो। डिप्रोक्स लघुवित्त र लक्ष्मी लघुवित्त २ प्रतिशत आसपासमा बढेका छन्। ९ कम्पनी बढेका छन् भने ९ प्रतिशतभन्दा बढीले घट्ने कम्पनीको संख्या ३२ छ।
गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी र युनाइटेड इदी मर्दी कम्पनीको सेयर १० प्रतिशतले घटेको हो।
मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले बढीमा १२ करोडसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेसँगै ओरोलो लागेको सेयर बजार बैंकहरूले ब्याजदर बढाएपछि झन् बढी चापमा परेको हो।