अमेरिकामा कोरोना नियन्त्रण टिमका प्रमुख वैज्ञानिक डाक्टर एन्थोनी फाउचीले थर्मामिटरले जाँच्दैमा कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता नलाग्ने बताएका छन्।
डाक्टर फाउचीले एक फेसबुक लाइभ कार्यक्रममा भनेका छन्, ‘कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर जाँच्न ज्वरो नाप्ने काम भरोषयोग्य होइन।’
उनले अमेरिकी राष्ट्रपति भवन र नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजेजले तापक्रम नाप्न बन्द गरिसकेका छन्।
विश्वका धेरै देशमा कार्यालय र अन्य स्थलमा प्रवेश गर्नुअघि उनीहरुको शरीरको तापक्रम नाप्ने गरिन्छ।
‘थर्मामिटरले ताप क्रम नाप्नुभन्दा मानिसहरुलाई सोझै सोध्नु ठिक हुन्छ। यसले समयको बचत पनि हुन्छ। किनभने, तापक्रम जाँच्ने काम कैयौं पटक नराम्रोसँग गलत सावित भएको छ,’ डा फाउचीले भनेका छन्।
कतिपय कोरोना संक्रमितलाई ज्वरो आएकै हुँदैन भने कतिपयलाई कोरोना बाहेकका कारणले पनि ज्वरो आएको हुनसक्छ।