काठमाडौं– नेपालको अद्यावधिक नक्साको अंग्रेजी संस्करण स्वीकृत गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो।
मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा आज (शुक्रबार) स्वीकृत गरेकी हुन्। नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको उक्त नक्सा आज मन्त्रालयबाट स्वीकृत गरिएको हो।
विगतमा विभिन्न कारणले छुटाइएको लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक–प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो। सोही नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो।
नेपालको अद्यावधिक नक्सा जारी भएसँगै विश्व जगतमा बदलिएको नेपालको मानचित्रबारे जानकारी दिनकै लागि अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ।
अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कूटनीतिक नियोगहरु, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउनका निम्ती बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन्।
अंग्रेजी संस्करणको नक्सा परराष्ट्र मन्त्रालयमार्फत संयुक्त राष्ट्र संघ, विभिन्न कूटनीतिक नियोक, समग्र अन्तराष्ट्रिय समुदायमा पठाइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए।
